सुलीकोट (गोरखा), असोज २७ गते ।
बूढीगण्डकी नदीमा आएको भीषण बाढीले बेनीघाट–आरुघाट–लार्के सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको सडक सम्पर्क विच्छेद भएको छ। बाढीले सडक कटान गर्नुका साथै दर्जनभन्दा बढी स्थानमा पहिरो खसालेपछि यातायात सेवा ठप्प बनेको हो।
आरुघाट गाउँपालिका–३ स्थित छेपारेभीरनजिक सडक कटान हुँदा उत्तरी गोरखा पुग्ने मुख्य सडक नै बाढीले बगाएको छ। सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत गर्न सकेका छैनन्। धार्चे गाउँपालिकाको खोर्लाबेँसीदेखि घट्टेखोलासम्मको सडकको अवस्था झनै नाजुक छ। कतिपय स्थानमा नदी सडकबाटै बगिरहेको र पैदल हिँड्ने बाटोसमेत नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो।
आरुघाट गाउँपालिका–३ का वडाध्यक्ष टेकबहादुर अधिकारीका अनुसार छेपारेखोलाबाट सोतीतर्फ करिब एक सय मिटर अगाडि सडक भासिएको छ। नदी सडकतर्फ सोझिएर बगेकाले सडक खुलाउन चुनौती भएको उहाँले बताउनुभयो। जोखिमका कारण यसअघि जेसीभी प्रयोग गर्न नसकिएको र सोमबारदेखि ठूलो एक्साभेटर ल्याएर सडक खुलाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
बाढीले सोती खण्डमा सडकसम्मै लेदो थुपारेको छ। सोमबार दिनभर उक्त लेदो हटाउन जेसीभी परिचालन गरिए पनि सडक कटान भएको स्थानमा थप भासिने जोखिम रहेकाले मर्मतको काम सावधानीपूर्वक भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो।
यसैगरी, धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसी र तातोपानीबीचको सडक पनि बूढीगण्डकीको कटानमा परेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो। छेपारेभीरको सडक खुले माछाखोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने भए पनि खोर्लाबेँसी–तातोपानी खण्डमा नदी नै बगिरहेकाले पैदल आवागमनसमेत सम्भव नभएको उहाँले जानकारी दिनुभयो।
बाढीपछि उत्तरी गोरखामा टेलिफोन सम्पर्कसमेत विच्छेद हुँदा लुसिराङ क्षेत्रका बासिन्दाको अवस्थाबारे जानकारी लिन कठिन भएको छ। त्यहाँ रहेका पाँच घरपरिवारको अवस्था बुझ्न तीन जना युवालाई भीरको बाटो हुँदै पठाइएको अध्यक्ष गुरुङले बताउनुभयो।
सडक योजना कार्यालय गोरखाका प्रमुख विनोद पुनका अनुसार छेपारेभीरनजिक सडक खुलाउने काम सोमबार बिहानदेखि भइरहेको छ। बेनीघाट–आरुघाट–लार्के सडकका विभिन्न स्थानमा बाढीले बगाएर ल्याएको लेदो र माटो थुप्रिएको छ। सडक अवरुद्ध हुँदा उत्तरी गोरखाको आवागमन, ढुवानी तथा दैनिक जनजीवन प्रभावित बनेको छ।
बूढीगण्डकीमा बाढी आएको आइतबारदेखि नै सडक खुलाउन विभिन्न सरकारी निकायका टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो। सडक योजना कार्यालय, पूर्वाधार विकास कार्यालय र सघन सहरी विकास कार्यालय गोरखाका प्रमुखसहितको टोली आरुघाटमा रहेर सडक खुलाउने काममा जुटिरहेको उहाँले जानकारी दिनुभयो।
उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
बूढीगण्डकीमा आएको भीषण बाढीका कारण उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन भएका छन्। आइतबार आएको बाढीले लघुजलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिकाका वडा नम्बर ३ र ६ का विभिन्न बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको हो।
सिर्दिवास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङका अनुसार लोक्पा, दुङला, न्याक, फिलिम, चिसापानी, आँगा, नाम्चेत, घट्टेखोला, जगत, सल्लेरी, पाङसिङ र सिर्दिवासलगायतका बस्तीका करिब पाँच हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि ती बस्ती अन्धकारमा परेका उहाँले बताउनुभयो।

