alliance khabar

मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ, असोज २७ गते ।

सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित ४० किसिमका तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सुरु भएर पूरा नभएका र हालै मात्र सुुरु गरिएकासहित साढे तीन दर्जन विषय र क्षेत्रमा तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ ।

नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क सङ्कलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ । कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क सङ्कलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रकृतिका काम रहेका छन् ।

मार्गदर्शन अनुसार अहिले राष्ट्रिय आर्थिक गणना, २०८२, राष्ट्रिय औद्योगिक गणना, २०८३ र राष्ट्रिय जनगणना २०८८ का लागि काम भइरहेको छ, जसमध्ये चालु आवमा आर्थिक गणनाको तथ्याङ्क प्रशोधन, विश्लेषण तथा नतिजा प्रकाशनको काम हुने छ ।

कार्यालयले यसअघि नै देशैभरबाट यसका लागि आवश्यक तथ्याङ्क सङ्कलन गरिसकेको छ । त्यस्तै औद्योगिक सर्वेक्षणका लागि सामग्री निर्माण तथा तथ्याङ्क सङ्कलन गर्ने कार्यक्रम पनि चालु आवमा रहेको छ । त्यस्तै जनगणनाका लागि दस्ताबेज तयारी गर्ने काम पनि यसै वर्ष सुरु हुने छ ।

सर्वेक्षण अन्तर्गत कार्यालयले सात किसिमका काम अघि बढाएको छ । जस अन्तर्गत आन्तरिक पर्यटन सर्वेक्षणबाट प्राप्त प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यसबाहेक स्वास्थ्यसेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण, २०८२; व्यावसायिक तरकारीबाली सर्वेक्षण, २०८२; स्थल यातायात सर्वेक्षण, २०८२; सहकारी क्षेत्रको अध्ययन तथा सर्वेक्षण, २०८२ को तथ्याङ्क प्रशोधन, विश्लेषण तथा नतिजा प्रकाशनको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने कार्यालयको कार्ययोजना छ ।

त्यस्तै चौथो नेपाल श्रमशक्ति सर्वेक्षणको तथ्याङ्क सङ्कलन, प्रशोधन तथा विश्लेषण, व्यावसायिक चिया तथा कफी खेती सर्वेक्षण, २०८३; मत्स्यपालन सर्वेक्षण, २०८३; विदेशी पर्यटकले नेपालमा गरेको खर्चसम्बन्धी सर्वेक्षण, २०८३/८४ को समग्र तयारी तथा तथ्याङ्क सङ्कलनको काम पनि चालु आवको कार्यतालिकामा छ । वार्षिक घरपरिवार सर्वेक्षण, २०८४; अन्तरजनगणना जनसाङ्ख्यिकीय तथा समावेशीकरण सर्वेक्षण, २०८४; नेपाल जीवनस्तर सर्वेक्षण, पाँचौँको सर्वेक्षण सामग्री तयार गर्ने कार्ययोजना पनि कार्यालयको छ ।

कार्यालयले चालु आवमा उखु खेतीसम्बन्धी अध्ययन, सहरी क्षेत्र केन्द्रीय अस्थायी जनसङ्ख्यासम्बन्धी अध्ययन, सुन्तलाबाली सर्वेक्षण/अध्ययनको काम पनि गर्ने भएको छ । चालु आवमा तथ्याङ्कसँग सम्बन्धित कार्यालयका दर्जनभन्दा बढी कार्यक्रम पनि रहेका छन् । जस अन्तर्गत राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन, पर्यटन स्याटेलाइट एकाउन्ट, राष्ट्रिय ट्रान्सफर एकाउन्ट जस्ता आवधिक कार्यक्रम छ ।

सालबसाली नियमित कार्यक्रम अन्तर्गत मूल्य तथा उत्पादन सूचकाङ्क, राष्ट्रिय लेखा अनुमान, राष्ट्रिय तथ्यगत विवरण अद्यावधिक, पालिका प्रोफाइल, मानक तथा गुणस्तर निर्धारण, अन्तर्राष्ट्रिय तुलना कार्यक्रम, वातावरण तथ्याङ्कलगायतका कार्यक्रमलाई कार्यालयले आफ्नो कार्ययोजनामा राखेको छ ।

लागत तेइस करोड

कार्यालयले तथ्याङ्क सङ्कलनसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालनका लागि करिब २३ करोड रुपियाँ लागत पर्ने उल्लेख गरेको छ । यसमध्ये सबैभन्दा बढी खर्च राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि पाँच करोड ७७ लाख रुपियाँ पर्ने विवरण छ । त्यसपछि चौथो नेपाल श्रमशक्ति सर्वेक्षणका लागि पाँच करोड ३३ लाख खर्च हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ