कर्णाली, असोज १३ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चालु आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आज आयोजित कार्यक्रममा उहाँले सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, भौतिक पूर्वाधारमन्त्री मिलन खड्का रोका, उद्योग, पर्यटनमन्त्री कल्याणी खड्का, कृषिमन्त्री जुम्कित लामा कार्की, जलस्रोतमन्त्री कलबहादुर हमाललगायतसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । सम्झौतापत्र आदानप्रदान गर्दै उहाँले विकास बजेट समय सीमाभित्रै कार्यान्वयन गर्न र प्रदेश सरकारका गतिविधिहरू प्रभावकारी ढङ्गले सम्पादन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित रहनुहुँदैन । यो सरकारको सेवा प्रवाह नागरिकले अनुभूति गर्ने खालको हुनुपर्छ । सम्झौताले एउटा अनुशासन कायम गर्ने हो । कामप्रतिको लगाव राख्ने उत्प्रेरित गर्ने र समग्र हिसाबले प्रदेश सरकार साँच्चै आफ्ना नागरिकप्रति जिम्मेवार र जवाफदेही छ भन्ने सन्देश प्रवाहमा सहयोग पुर्याउने हो ।”
मन्त्रीहरूले अब सचिवसँग पनि सोहीअनुसार कार्यसम्पादन सम्झौता गर्नुपर्ने र सचिव महाशाखा प्रमुख तथा मातहतका कार्यालय प्रमुखसँग समन्वय गरी प्रभावकारी ढङ्गले काम गरेरनगरेको, समयभित्र बजेट खर्च भएरनभएको विषयमा गम्भीरतापूर्वक अनुगमन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो । योजना अनुगमन प्रणालीलाई प्रविधिसँग जोडेर लैजाने तथा अनुगमनलाई सहज, छिटो, नियमित र प्रभावकारी बनाउन छुट्टै पद्धतिको विकास गरी प्रदेश सरकारले काम गर्नेसमेत उहाँले बताउनुभयो ।