alliance khabar

मंगलबार, आश्विन १३, २०८३

सिद्धार्थनगर, असोज १३ गते ।

 पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा आफू पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित भएर अघि बढ्ने बताउनुभएको छ ।

एमालेले असोज ८ गते उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताउनुभएको हो । उक्त निर्णयलाई एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरिसकेको छ ।

‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन । राष्ट्रपति भइसकेँ, अब कहाँ जाने ? पदका हिसाबले माथि पुगिसकेँ । अब जाने भनेको स्वर्ग हो,’ उहाँले भन्नुभयो, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ । त्यसैले यही पार्टीमा रहेर काम गर्छु ।’

बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै उहाँले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । विगतको वाम आन्दोलनका क्रममा आफूले विभिन्न समस्या भोग्नुपरे पनि राजनीतिक आस्था परिवर्तन नगरेको उहाँले उल्लेख गर्नुभयो ।

पार्टी नेतृत्वबाट भएका गल्ती तथा कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको बताउनुभयो । २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम प्राप्त भएको उल्लेख गर्दै उहाँले पछि एकता भङ्ग हुँदा पार्टी विभाजनसँगै ठुलो राजनीतिक क्षति भएकोसमेत बताउनुभयो ।

‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ । त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।

नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने तत्त्वहरू पनि रहेको उल्लेख गर्दै भण्डारीले जनताको आस्था जबरजस्ती परिवर्तन गर्न नसकिने बताउनुभयो ।

मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुनेमा जोड दिँदै उहाँले पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने बताउनुभयो । ‘हामीले हाम्रो आवश्यकता के हो, जिल्लाको आवश्यकता के हो र राष्ट्रको आवश्यकता के हो भन्ने आधारमा एकता कायम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै भण्डारीले एमाले नै वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको विकल्प भएको दाबी गर्नुभयो ।

‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ । अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उहाँले भन्नुभयो । राष्ट्रिय विषयमा समेत एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने काममा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ