Alliancekhabar

मंगलबार, आश्विन ३०, २०८०

काठमाडौँ, ३० असोजः मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो चार केभी सबस्टेसन निर्माण सम्पन्न गरी सोमबार साँझ चार्ज गरिएको हो ।

मुलुकभित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।

हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता नौ सय ४५ एमभिए छ । इनरुवा-ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा-ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले निर्माणाधिन सवस्टेशन तथा प्रसारण लाइन निर्माणलाई तीव्रता दिन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले प्रसारण लाइनको अभावमा उत्पादित बिजुली खेर जाने अवस्था आउन नदिन सबै उपाय अबलम्बन गर्न समेत निर्देशन दिनुभए अनुसार सवस्टेशन निर्माण सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रुपमा रहेको बताउनुभयो ।

“सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया चार सय केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा-अनारमनी चार सय केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हव बनेको प्राधिकरणको बुझाइ छ । मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर दुई सय २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरको इनरुवा-बसन्तपुर-तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर-ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै, तुम्लिङटार-शीतलपाटी दुई सय २० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हव-इनरुवा चार सय केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको बताउनुभयो । वर्खाको समयमा तराईमा हुने डुवान, विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो ।

विसं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गर्नुभयो ।

आयोजनाअन्तर्गत नै चार सय केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौंडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौंडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।

नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र रू २० करोड ४८ लाख रहेको छ । सबस्टेसन निर्माणको सुपरीवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल