मुगु, कात्तिक १८ गते ।
रारा ताल भ्रमणका लागि आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज गुल्म राराले उद्धार गरेको हो ।
हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका १२ जना पर्यटक रारा भ्रमणका क्रममा बाटो बिराएर चुच्चेमारा जङ्गलमा अलपत्र परेका थिए ।
पर्यटक अलपत्र परेको सूचना प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालन गरिएको गुल्मपति श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उद्धारमा खटिएको टोलीले राति करिब १० बजे सबै पर्यटकलाई सकुशल उद्धार गरी सल्लेरीस्थित होटलसम्म पुर्याएको थियो ।
चुच्चेमारा क्षेत्रमा पर्यटक अलपत्र परेको सूचना पाएलगत्तै नेपाली सेनाले तत्काल उद्धार टोली परिचालन गरी मानवीय उद्धार कार्य गरेको हो ।
