alliance khabar

आइतबार, आश्विन २८, २०८०

गुल्मी, २८ असोज : लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ ।

गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका यस क्षेत्रका बासिन्दाका लागि धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत लिफ्टिङको माध्यमबाट वडा नं ५ अन्तर्गत वस्तुको हर्रैका घरघरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । उहाँका अनुसार यहाँका एक सय आठ घरधुरीमा खानेपानी पुगेको छ ।

लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्न बाध्य यस क्षेत्रका स्थानीय घरको धारामा पानी आएपछि दङ्ग छन् । चाडबाडको समयमा पानीको अभावमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमला भण्डारीले बताउनुभयो ।

पानीका लागि जिल्लामा धुर्कोट गाउँपालिका सुक्खा क्षेत्रअन्तर्गत पर्दछ । सातवटा वडा रहेको धुर्कोट गाउँपालिकाका सबै वडामा खानेपानीको चरम अभाव थियो । विकास र अन्य पूर्वधारका हिसाबले धुर्कोट अगाडि भए पनि खानेपानीका क्षेत्रमा पछाडि परेको थियो ।

पालिकाभित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिको माध्यमबाट घरघरमा पानी पुर्‍याउन थालिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।

“खानेपानीका लागि मूल नभएकाले सुक्खा याममा यहाँका अधिकांश मानिसको दैनिकी पँधेरा र कुवाबाट पानी बोकेर बित्ने गर्दथ्यो”, स्थानीय तारा पाण्डेले भन्नुभयो, “जीवनमा पहिलोपटक यसरी आफ्नै घरआँगनमा खानेपानीको धारासँगै शुद्ध पिउने पानी आएपछि निकै खुसी लागेको छ ।” यसरी आफ्नै पालामा घरघरमा धाराबाट यसरी पानी आउँला भन्ने आफूले कल्पना नगरेको भन्दै विगतका दुःखलाई बिर्साइदिएको उहाँको भनाइ थियो ।

सङ्घीय र प्रदेश सरकार, धुर्कोट गाउँपालिका र स्थानीय जनश्रमदानसमेत गरी कुल रू एक करोड ५९ लाख तीन सय २४ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । योजना सुरु गरिएको चार वर्षमा सम्पन्न भएको जनाउँदै उहाँले आयोजनाबाट अहिले एक सय आठ घरधुरीका छ सय ५० जना प्रत्यक्ष लाभान्वित बनेका बताउनुभयो ।

पाँच हजार तीन सय ८२ घरधुरी रहेको धुर्कोट गाउँपालिकामा अझै एक हजार सात सय ३२ घरधुरीमा खानेपानी पुर्‍याउनका लागि काम भइरहेको पालिकाले जनाएको छ । पालिकाले आउँदो दुई वर्षभित्र धुर्कोटका सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियानलाई पुरा गर्ने अध्यक्ष पोख्रेलले बताउनुभयो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल