Alliancekhabar

बिहिबार, आश्विन २५, २०८०

गोरखा, २५ असोज ः गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्ममात्र पढ्नुभएकी उहाँले घरसँगै जोडिएको सानो टहरामा बनाउनुभएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो ।

थोरै जग्गा जमिन र त्यसबाट हुने उब्जनीले तीनजनाको परिवार पुग्न धौधौ हुने भएपछि सिर्मलकी श्रीमान् वैदेशिक रोजगारीमा जानुभयो । घरमा आफू पनि केही न केही आर्थिक आयआर्जनमा जोडिनुपर्छ भन्ने ठानेर व्यावसायिक कुखुरापालन तालिम लिएर उहाँले सानो खोर बनाएर कुखुरापालन सुरु गर्नुभयो । अहिले त्यहीँ तालिमले उहाँलाई स्वरोजगार बनाएको छ ।

“तालिम लिएपछि थोरै भए पनि आम्दानी हुन्छ भनेर सुरुसुरुमा खोरमा १०÷१५ वटामात्र बोइलर कुखुराको चल्ला हालेर व्यवसाय सुरु गरेँ”, उहाँले भन्नुभयो, “यसबाट मासिक रु दुईचार हजार आम्दानी हुन थालेपछि अहिले घरमै बसेर पनि आम्दानी गर्न सकिँदोरहेछ भन्ने लागेर व्यावसायिक रुपमा कुखुरापालन गरिरहेको छ, यसले राम्रो आम्दानी दिएको छ ।”

व्यावसायिक रुपमा कुखुरापालन तालिम लिएर कुखुरा पाल्न थालेपछि घरमै बसेर पनि वार्षिकरुपमा करिब रु एक लाख ८० हजारसम्म आम्दानी गर्ने गरेको सिर्मलले बताउनुभयो । “अहिले ७० वटा जति कुखुरा हालेको छु”, उहाँले भन्नुभयो, “पैतालिस दिन जतिमा बेच्न हुन्छ त्यसले दैनिक घरखर्च चलाउन मलाई श्रीमान्ले विदेशबाट पैसा पठाउनु परेको छैन ।”

विपन्न तथा सीमान्तकृत महिलाका आयआर्जन वृद्धिका लागि गण्डकी गाउँपालकाको समन्वय, युएसएआइडीको आर्थिक सहायोग र नेपाल महिला दलित उत्थान स्ङ्घ (एडवान) को आयोजनामा सञ्चालित तालिम लिएपछि व्यावसायिक कुखुरापालन गरेर आफैँले कमाएर घरखर्च चलाउन सक्नुपर्छ भन्ने लागेर कुखुरा पालन सुरु गरेको उहाँको भनाइ छ ।

“तालिम लिएपछि सानो भए पनि केही न केही आर्थिक आयआर्जन हुने व्यवसाय गनुपर्दो रहेछ भन्ने लाग्यो, सिर्मलले भन्नुभयो, “सानोबाट सुरु गरेर विस्तारै बढाउँदै लैजान सकिन्छ भनेर १५÷२० वटाबाट सुरु गरेर अहिले ७० वटासम्म पाल्ने गरेको छु ।”

व्यवसाय सुरु गरेसँगै दैनिकरुपमा घरखर्च टार्न पैसाको अभाव नभएको सिर्मलको भनाइ छ । “कुखुरा नपाल्दा पैसाको अभाव हुन्थ्यो, कुखुरा पालेदेखि आफूलाई खर्च गर्ने अनि बच्चा पढाउन धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो, “एकदुई वटा बिचबिचमा बिक्री भइरहने हुँदा समस्या छैन ।”

सुरु सुरुमा डोकोमा बोकेर होटल, पसल र गाउँगाउँमा कुखुरा बेच्नु परेको दुःख सुनाउने उहाँले अहिले भने बिक्रीका लागि कठिनाइ नभएको बताउनुभयो । “अहिले त नम्बर राख्छु, होटलले समेत सम्र्पक गरेर लैजान्छ”, सिर्मलले भन्नुभयो । व्यवसाय सुरु गरेपछि विदेशमा श्रीमान्ले कमाएका पैसा घर खर्चका लागि खर्च गर्नु नपरेको सिर्मलले बताउनुभयो । सानै उमेरमा बिहे गर्नुभएकी उहाँले अरुको मेलापात गरेर जीविकोपार्जन गर्दै आउनुभएको भए पनि अहिले भने कुखुरा पालनबाट सन्तुष्ट हुनुहुन्छ ।

कुखुराको चल्ला राख्दा खोर सफा गर्ने, औषधि खुवाउने, दाना खुवाउनेलगायतका कुरा तालिममा सिकेको उहाँको भनाइ छ । नपढेको भए पनि सानोसानो व्यवसाय गरेर आफ्नो आर्थिक कमजोरीलाई उकास्न सक्ने भन्दै उहाँले गर्न चाहे घरमै बसेर पनि थोरै थोरै आम्दानी गर्न समस्या नहुने बताउनुभयो ।

अर्काको काम गर्दा भन्ने बित्तिकै ज्याला पाउन पनि सजिलो छैन, सिर्मलले भन्नुभयो, “विदेशमा दुःख गरिरहनुभएको श्रीमान्ले पनि भन्ने बित्तिकै पठाइदिनु भन्न पनि मिल्दैन, श्रीमान्लाई पिर्ने कुरा पनि भएन त्यस कारणले पैसाको अभाव हुन्थ्यो, अहिले कुखुरा पाल्न थालेपछि यसैबाट आउँछ सजिलो भएको छ ।”

जङ्गलको छेउमा गुन्द्रीको ढोका हालेर जीवन गुजार्दै आउनुभएकी सिर्मलको अहिले गाउँमा चिटिक्क परेर बलियो घर छ । “आर्थिक अवस्था कमजोर भएकाले दुःख पनि सिकायो”, उहाँले भन्नुभयो, “नपढे पनि अहिले आफ्नो खुट्टामा आफैँ उभिनसक्ने भएको छु आफैँलाई खुसी लाग्छ ।” पहिला पहिला बिहान बेलुकी छाक टार्न नै गाह्रो हुने सुमनाको परिवारमा अहिले रु दुईचार हजारका लागि कसैको धाउनु नपरेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल