alliance khabar

मंगलबार, आषाढ ०९, २०८३

नारायणगढ, असार ९ गते ।

 भरतपुर महानगरपालिकाले पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकता दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि पाँच अर्ब ५१ करोड ७० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

महानगर सभाको १९ औँ अधिवेशनमा सोमबार कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले सो बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट चालु आव २०८२/८३ को बजेटभन्दा २० करोड रुपियाँ बढी हो ।

बजेटमा चालु र पुँजीगत खर्च छुट्याइएको छैन । महानगरका सिनियर डिभिजन प्रमुख सन्तोष आचार्यले गत वर्ष जस्तै यस वर्ष पनि बजेटको ४८ प्रतिशत पुँजीगत र ५२ प्रतिशत चालु खर्चमा बजेट विनियोजन भएको बताउनुभयो ।

चालु आवमा पाँच अर्ब २२ करोड ३१ लाख ७० हजार रुपियाँ बजेट विनियोजन भएको थियो ।  बजेटमा चालु शीर्षकमा दुई अर्ब ६० करोड १६ लाख १२ हजार ६८१ रुपियाँ र पुँजीगततर्फ दुई अर्ब ६२ करोड ७६ लाख १६ हजार ३१ रुपियाँ विनियोजन भएको थियो ।

कार्यवाहक नगरप्रमुख अधिकारीले आगामी वर्षको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र डिजिटल सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

बजेटको ठुलो हिस्सा अधुरा तथा बहुवर्षीय आयोजना सम्पन्न गर्न केन्द्रित गरिएको छ । यस अन्तर्गत विगतका योजनाको दायित्व भुक्तानी तथा निर्माणाधीन परियोजना सम्पन्न गर्न ६० करोड रुपियाँ विनियोजन गरिएको छ । त्यस्तै वडास्तरीय विकास कार्यक्रमका लागि ४० करोड आठ लाख रुपियाँ विनियोजन गरिएको छ ।

बजेटमा सहरी पूर्वाधारतर्फ सडक, नाला, पुल, खानेपानी तथा ढल व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । सङ्घीय सरकारको सहकार्यमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ भने सडक तथा सहरी सौन्दर्यीकरण कार्यक्रमका लागि २१ करोड ८५ लाख रुपियाँ छुट्याइएको छ ।

शिक्षाक्षेत्रमा ११ करोड ८६ लाख रुपियाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा खानेपानी तथा विद्युत् महसुल अनुदान, विद्यालय समायोजन, बालविकास शिक्षा विस्तार र शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । स्वास्थ्य क्षेत्रमा निःशुल्क स्वास्थ्य बिमा, शिवनगर अस्पताल सुदृढीकरण, औषधी वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनका लागि २२ करोड २० लाख रुपियाँ बजेट राखिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रका लागि आठ करोड ८० लाख रुपियाँ विनियोजन गरिएको छ भने कृषक क्षमता विकास, कृषि उपकरण अनुदान, दुग्ध उत्पादन प्रोत्साहन तथा चिस्यान केन्द्र निर्माण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

महानगरले फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्धन तथा वातावरण संरक्षण कार्यक्रमका लागि छ करोड ७० लाख रुपियाँ छुट्याएको छ । डिजिटल प्रशासन, अनलाइन सेवा विस्तार र राजस्व व्यवस्थापन सुधारका लागि पनि महानगरले विशेष बजेट व्यवस्था गरेको छ । कार्यवाहक नगरप्रमुख अधिकारीले प्रस्तुत बजेटले ‘मध्य नेपालको सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सेवा प्रवाह, सुशासन, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर सुधारलाई बजेटको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो ।

महानगरले आफ्नो बजेटको स्रोत सुनिश्चित गर्न आन्तरिक आम्दानीतर्फ दुई अर्ब चार करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ भन अन्य बजेट सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट, जनसहभागिता तथा बैङ्क मौज्दातलाई समेत आयको स्रोतका रूपमा समेटिएको अधिकारीले जानकारी दिनुभयो ।

यसअघि अधिकारीले नगर सभामा महानगरको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । भरतपुर महानगरका प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएपछि उपप्रमुख अधिकारी कार्यवाहक प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । उपप्रमुखको जिम्मेवारीसमेत समाल्नुभएकाले उहाँले नै नीति तथा कार्यक्रम र बजेट आफैँ प्रस्तुत गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल