मकवानपुर, असार ८ गते ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैङ्क तथा वित्तीय संस्थाले आमनागरिकको अपेक्षा अनुसारको सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल बैङ्क लिमिटेड बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडा शाखाको नवनिर्मित भवनको आइतबार उद्घाटनका क्रममा मन्त्री वाग्लेले नयाँ प्रादेशिक कार्यालयको नयाँ भवनपरिसरबाट फरक ढङ्गले सेवाग्राहीलाई सेवा सुविधा दिनुपर्ने बताउनुभयो ।
उहाँले नेपाल आधुनिकीकरणतर्फ कदम चाल्दै गर्दा पहिलो बैङ्कका रूपमा स्थापना भएको नेपाल बैङ्क विभिन्न आरोहअवरोह पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको बताउनुभयो । बैङ्कले आधुनिक भवनबाट आफ्ना सेवाग्राहीलाई आधुनिक सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राणाकालीन भाषा र त्यतिबेलाको इतिहास अनुसार ‘नेपाली जनताको बढिया गर्न’ भनेर लेखिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “हेटौँडाको पनि पुरानो इतिहास र बैङ्कले हेटौँडामा २०२५ सालदेखि कारोबार सुरु गरेको पाइयो, गौरवगाथा बोक्ने पुराना सम्पदाको हामीले सम्मान गर्नु पर्छ ।” उहाँले बैङ्क प्रशासनलाई नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई सुदृढ गर्दै जान आग्रह गर्नुभयो । फरक प्रसङ्गमा मन्त्री वाग्लेले हेटौँडाको सडक विस्तार र भौतिक पूर्वाधारको विषय अदालतमा विचाराधीन रहेको भन्दै सडक विस्तारमा सरकारले निकास दिन सहजीकरण गर्ने बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले सेवाग्राहीले उत्पादनसँग जोडेर जान चाहने क्षेत्रमा बैङ्कले काम गर्नुपर्ने भन्दै बैङ्कले गरिबलाई सरकार छ भन्ने अनुभूति दिलाएर काम गर्न विशेष कार्यक्रम लागु गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले नेपाल बैङ्कप्रति विश्वास र भरोसा रहेको भन्दै नयाँ रणनीतिका साथ काम गर्न आग्रह गर्नुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नयाँ सरकारका सयबुँदे कार्यक्रम समेटेर र सरकारको आगामी आर्थिक वर्षको बजेटलाई समेत एकाकार गरेर कार्यक्रम अगाडि बढाएको भन्दै विगतको तुलनामा बैङ्कको सेवा सुविधामा सुधार आएको बताउनुभयो ।
उहाँले बैङ्कले नयाँ प्रविधि ल्याउन नेपाल सरकारका नीतिका कारण खरिद प्रक्रिया सुस्त रहेका कारण समस्या देखिएको बताउनुभयो । कार्यक्रममा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले बैङ्कको सेवाबारे बोल्नुभएको थियो । सिटी अफिस हेटौँडा शाखाको नवनिर्मित अन्डर ग्राउन्डसहित तीनतले भवन चार करोड ७२ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो ।