काठमाडौँ, असार ६ गते ।
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहबिच सो भोटो प्रदर्शन गरिएको हो । भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनुहुन्थ्यो ।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङका साथै मन्त्रीगण र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा छ ।
भोटो जात्रा लिच्छविकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमाणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
