alliance khabar

बुधबार, जेठ २०, २०८३

गौशाला (महोत्तरी), जेठ २० गते ।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ।

दिउँसो सहर, बजार तथा ग्रामीण सडकमा मानिसको चहलपहल उल्लेख्य रूपमा घटेको देखिन्छ। अत्यधिक गर्मीको प्रत्यक्ष असर दैनिक ज्यालादारी गर्ने मजदुरमा परेको छ।

गौशाला नगरपालिका–४ रजखोरका ४५ वर्षीय मजदुर रामबहादुर सदाले दैनिक काम नगरे जीविकोपार्जन गर्न कठिन हुने भएकाले चर्को गर्मीका बीच पनि काममा जानुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले पछिल्ला चार–पाँच दिनयता अत्यधिक गर्मी बढेको उल्लेख गर्नुभयो।

औरही नगरपालिका–२ का ७० वर्षीय किसान रामदिनेश यादवले अत्यधिक गर्मीका कारण बाहिर हिँडडुल गर्नसमेत कठिन भएको बताउनुभयो। उहाँका अनुसार सडक, घर, जग्गालगायत सबै ठाउँ अत्यधिक तातिएका छन् भने तातो हावाले थप सास्ती दिएको छ। पानीसमेत तातो हुने र निरन्तर पसिना आउने समस्याले दैनिक जीवन प्रभावित बनेको उहाँको भनाइ छ।

गर्मीका कारण व्यापार–व्यवसायसमेत प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। गौशालाका व्यवसायी रमेश गुप्ताले दिउँसो ग्राहकको आवागमन घटेकाले व्यापारमा असर परेको बताउनुभयो। उहाँका अनुसार अहिले साँझपख मात्र केही ग्राहक बजारमा आउने गरेका छन्।

अत्यधिक गर्मीसँगै विद्युत् खपत बढेपछि गौशाला र बर्दिवास क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या देखिएको छ। पंखा, कुलर, फ्रिज तथा पानी तान्ने मोटरलगायत विद्युतीय उपकरणको प्रयोग बढेपछि प्रणालीमा अतिरिक्त चाप परेको हो।

स्थानीयवासीले हरेक वर्ष दोहोरिने यस्ता समस्यालाई मध्यनजर गर्दै समयमै पूर्वतयारी नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्। केही दिनयता बारम्बार विद्युत् अवरुद्ध हुँदा कतिपय स्थानमा रातिको समयमा समेत सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

गौशालाका युवा धनवीर महतोले गर्मीका बेला सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गर्न तथा सडकमा पानी छर्कनेजस्ता उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो। उहाँले अत्यधिक घामबाट जोगिने उपायबारे स्थानीय सरकारले नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो।

दिउँसोको चर्को गर्मीका कारण सर्वसाधारण साँझपख मात्र घरबाहिर निस्कन थालेका छन्। जलाधार क्षेत्र, पार्क तथा खुला स्थानमा मानिसको भीड बढ्न थालेको छ भने केही नागरिक गर्मीबाट राहत पाउन स्वीमिङ पुलतर्फ आकर्षित भएका छन्।

विद्यालयहरूमा समेत गर्मीको प्रभाव देखिएको छ। पर्याप्त रूपमा पंखा सञ्चालन हुन नसक्दा विद्यार्थीहरूले कक्षाकोठामा असहज महसुस गरिरहेका छन्।

जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका मौसमविद् राजीव झाले आगामी तीन दिनसम्म गर्मीको अवस्था यथावत् रहने जानकारी दिनुभयो। उहाँका अनुसार दिउँसोको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, ज्वरो आउने तथा अत्यधिक थकान महसुस हुने समस्या बढ्न थालेको छ।

चिकित्सक डा. अविनाश मण्डलले गर्मीको असर व्यक्तिअनुसार फरक हुने बताउँदै बालबालिका, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा मुटुरोगीहरू बढी जोखिममा रहने जानकारी दिनुभयो। उहाँले पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन तथा स्थानीय तहले सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो। पानीको अभाव हुँदा गर्मीका कारण ज्यानसमेत जोखिममा पर्न सक्ने उहाँको चेतावनी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल