alliance khabar

आइतबार, जेठ १७, २०८३

भैरहवा, जेठ १७ गते ।

बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैङ्कको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।

परियोजना कार्यान्वयनका लागि सहरी विकास तथा भवन निर्माण विभागले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका चार स्थानीय तहसँग सम्झौता गरेको छ । सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ । विभागका तर्फबाट महानिर्देशक रवीन्द्र बोहराले हस्ताक्षर गर्नुभएको हो ।

बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विश्व बैङ्कले गत मार्च १३ मा ८५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ६६ करोड रुपियाँ) ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । पाँचबर्से परियोजना अन्तर्गत चार वटै नगरपालिकाले करिब तीन/तीन मिलियन अमेरिकी डलर (झन्डै ४६ करोड रुपियाँ) बराबरको कार्यक्रम सञ्चालन गर्ने छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिषकुमार यादवका अनुसार आगामी आर्थिक वर्षको सुरुमै प्रत्येक स्थानीय तहलाई पहिलो चरणमा करिब नौ करोड रुपियाँ उपलब्ध गराइने छ ।

परियोजनाको मुख्य उद्देश्य बुद्ध परिपथ क्षेत्रमा पर्यटन पूर्वाधार तथा सेवा सुधार गर्दै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर विस्तार गर्नु रहेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले प्राचीन कपिलवस्तु अर्थात् तिलौराकोटलगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थल संरक्षण र प्रवर्धनले विदेशी तीर्थयात्री तथा पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्ने बताउनुभयो । परियोजना अन्तर्गत सम्पदामैत्री पर्यटन पूर्वाधार निर्माण, गन्तव्य विकास, स्थानीय आर्थिक गतिविधि प्रवर्धन तथा निजी क्षेत्रको सहभागिता विस्तार गरिने छ । ऐतिहासिक तथा पुरातात्विक स्थलसम्म पुग्न पदमार्ग, शौचालय, डिजिटल सूचना बोर्ड, ट्रान्जिट साइनेज, खानेपानी, सरसफाइ तथा ढल निकासलगायतका पूर्वाधार निर्माण गरिने छ ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटनसँग सम्बन्धित सिप विकास तथा स्थानीय युवालाई पर्यटक पथप्रदर्शकका रूपमा तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ । परियोजनाले पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायसम्म पु¥याउने लक्ष्य लिएको छ ।

विश्व बैङ्कको ऋण सहयोगबाट सञ्चालन हुने कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार निर्माणका अधिकांश काम सहरी विकास तथा भवन निर्माण विभागले गर्ने छ भने गन्तव्य योजना तथा पर्यटन प्रवर्धनसम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले गर्ने छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ अवधि बढाउने गरी परियोजना केन्द्रित हुने बताउनुभयो । हाल अधिकांश पर्यटकले लुम्बिनी क्षेत्रमा छोटो समय मात्र बिताउने गरेका छन् ।

पर्यटन व्यवसायीले भने परियोजना प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । लुम्बिनी होटल सङ्घका सल्लाहकार खिम श्रेष्ठले विगतमा घोषणा गरिएका कतिपय योजना अपेक्षा अनुसार कार्यान्वयन हुन नसकेको स्मरण गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल