लेखनाथ, जेठ १७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको पहिलो अधिवेशनले योगेन्द्र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । महानगर समितिको उपाध्यक्षमा सङ्गीता गौतम, सचिव कमल बानियाँ, सहसचिव सरिता शर्मा र कोषाध्यक्षमा विष्णुहरि तिमिल्सिना चुनिनुभएको छ ।
२५ सदस्यीय समितिमा २३ जना सर्वसम्मत चुनिएकोमा दुई जना अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष केसी पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । शनिबारकै अधिवेशनले केन्द्रीय महाधिवेशन, प्रदेश अधिवेशन र जिल्ला अधिवेशनका लागि पनि प्रतिनिधि छानेको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडल (गनेस)ले नागरिकको सपनाको मूलभूत आधारमध्ये पर्यटन एक भएको बताउनुभयो । उहाँले देशको पर्यटनलाई नयाँ दिशा दिने गरी सरकार अघि बढेको उल्लेख गर्नुभयो ।
“नेपालमा पर्यटन जहिले पनि दृष्टिकोणविहीन तरिकाले चल्दै आएकोमा हामीले दृष्टि दिने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो, “हिमालको ब्रान्डिङमा के के गर्न सकिन्छ भन्ने गृहकार्यमा छौँ, आध्यात्मिक पर्यटनको विकासका लागि १० वर्षे आरोग्य पर्यटन रणनीति बनाएका छौँ ।” पर्यटन मन्त्रालयको बजेट थोरै भए पनि सबै मन्त्रालयको ध्यान पर्यटनमा जोडिएको जनाउँदै उहाँले पर्यटनको दीर्घकालीन र बहुआयामीक विकासमा सरकारले ध्यान दिएको उहाँको भनाइ छ ।
कार्यक्रममा रास्वपा प्रवक्ता मनीष झाले अहिलेको बजेट महत्वकांक्षी नभई यथार्थ परक नै भएको दाबी गर्नुभयो । उहाँले पदबाट भन्दा पनि कामबाट कद अग्लो बनाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नवनिर्वाचित अध्यक्ष केसीले पार्टीलाई सशक्तरुपमा अघि बढाउने वाचा गर्नुभयो । “अब आउने स्थानीय र प्रदेश निर्वाचनमा पनि पार्टीलाई बलियो गरी स्थापित गर्न लाग्छौं,” उहाँले भन्नुभयो ।