गौशाला (महोत्तरी), जेठ १५ गते ।
महोत्तरीको औरही नगरपालिका–१ निवासी ४० वर्षीय जोगेन्द्र मण्डलले गम्भीर रोगको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा पक्ष घात (प्यारालाइसिस) भएपछि स्वदेश फर्किएका मण्डल हाल किड्नी, पेनक्रियाज तथा पेटसम्बन्धी जटिल समस्याबाट पीडित हुनुहुन्छ ।
परिवारका अनुसार उहाँको एउटा किड्नी पूर्ण रूपमा खराब भइसकेको छ । पछिल्लो छ महिनादेखि लगातार पेट दुख्ने, बान्ता हुने तथा शरीर अत्यधिक कमजोर हुँदै जाने समस्या देखिएको छ । आर्थिक अभावका कारण समयमै उपचार गराउन नसक्दा स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको पीडित मण्डलले बताउनुभयो । “विदेशमा रहँदा पक्ष घात भयो, त्यहीँ उपचार गराएर नेपाल फर्किएँ । नेपाल आएको केही महिनापछि फेरि पेटमा असह्य पीडा सुरु भयो । अहिले सामान्य हिँडडुल गर्न सक्छु तर उपचार गर्ने पैसा छैन,” उहाँले भन्नुभयो ।
मण्डलले वैदेशिक रोजगारीबाट कमाएको सम्पूर्ण रकम उपचारमै खर्च भएको र आफूसँग भएको थोरै जग्गासमेत बैङ्कमा धितो राख्नु परेको बताउनुभयो । घरको एक मात्र कमाउने व्यक्ति बिरामी परेपछि परिवार आर्थिक सङ्कटमा परेको छ । उहाँका चार जना साना छोराछोरी छन्, जसमध्ये एक छोरा र एक छोरी शारीरिक रूपमा अशक्त रहेको परिवारले जनाएको छ । बिरामीकी श्रीमती प्रमिला देवीले आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारलाई निरन्तरता दिन कठिनाइ भइरहेको बताउनुभयो । “घरमा कमाउने मान्छे नै बिरामी भएपछि बालबच्चाको पालनपोषण गर्नसमेत गाह्रो भएको छ । हालसम्म उपचारमा धेरै रकम खर्च भइसकेको छ, अब थप उपचार गराउन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो । “मानवताका नाताले सकेको सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु,” उहाँले आग्रह गर्नुभयो । यता औरही नगरपालिका–१ निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर उपसभापति मनोजकुमार चौधरीले मण्डलको उपचारका लागि आर्थिक सहयोग जुटाउन पहल सुरु गर्नुभएको छ ।
उहाँले उपचार अभावमा एउटा परिवार ठुलो सङ्कटमा परेको भन्दै सबैसँग सहयोगका लागि आग्रह गर्नुभयो । परिवारका अनुसार हालसम्म उपचारमा करिब १५ लाख रुपियाँ खर्च भइसकेको छ भने थप १० लाख रुपियाँ आवश्यक पर्ने बताइएको छ ।