सर्लाही, जेठ १५ गते ।
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु क्रसिङ सिजन २०८२/८३ मा किसानबाट खरिद गरेको उखुको सम्पूर्ण भुक्तानी गरेको छ ।
उद्योगले यो वर्ष किसानबाट खरिद गरेको उखुको दुई अर्व दुई करोड १८ लाख ६४ हजार १६९ रुपियाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिनुभयो । उद्योगले यो वर्ष किसानसँग ३२ लाख ९३ हजार १२३.७९ क्विन्टल उखु खरिद गरेको थियो ।
सरकारले निर्धारण गरेको मुल्य अनुसार किसानलाई प्रतिक्विन्टल ६२० रुपियाँका दरले सम्पूर्ण किसानको भुक्तानी गरेर सकिएको उद्योगका प्रशासकीय अधिकृत नेपालले बताउनुभयो । सर्लाहीको दक्षिणवर्ती भेगको महालक्ष्मी चिनी उद्योग बगदह गोडैता र अन्नपूर्ण चिनी उद्योग धनकौलले भुक्तानी नदिएर किसान निराश भइरहेको अवस्थामा उत्तरी भेगको इन्दुशङ्कर चिनी उद्योग हरिवनले भने सबैभन्दा अगाडि किसानको सम्पूर्ण भुक्तानी गरेको हो ।
जेठ १ गते सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको बैठकले महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योगलाई जेठ मसान्तभित्र सम्पूर्ण किसानको भुक्तानी दिन निर्देशन दिइसकेको छ । यी दुई उद्योगले उखु किसानलाई करिव ५० करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।
धनकौलका उखु किसान रामकल्याण यादवले अन्नपूर्ण चिनी उद्योगमा उखु बिक्री गरेको तीन महिना बढी भइसक्दा पनि भुक्तानी नपाएको गुनासो गर्नुभयो । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनले बेलैमा भुक्तानी दिने गरे पनि महालक्ष्मी र अन्नपूर्णले वर्सेनि भुक्तानीका लागि आलटाल र ढिलाई गर्ने गरेका छन् ।