स्याङ्जा, जेठ ११ गते ।
अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पढाइसँगै व्यवहारिक सीप सिकाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीमा रचनात्मक परिवर्तन ल्याएको छ । विद्यालयले आफ्नै स्वामित्वमा रहेको पाँच रोपनी जग्गामा मौसमी तरकारी खेतीमार्फत विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउँदै आएको छ ।
परम्परागत खेती मात्र देख्दै आएका विद्यार्थीहरू अहिले आधुनिक तरिकाबाट करेसाबारीमा सहभागी हुँदै सिकाइलाई व्यवहारमा उतार्न थालेका छन् । “हामी पढ्दै कमाउँदै गएका छौँ र प्रयोगात्मक अभ्यास गर्न पाएका छौँ,” विद्यार्थी आकृति रोकाहाले बताउनुभयो ।
विसं २०७७ सालमा शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी यस विद्यालयमा बाली विज्ञानसँग सम्बन्धित कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ । गाउँपालिकाका ३१ विद्यालयमध्ये पञ्चकन्या माविले फरक अभ्यास गर्दै आएको हो । यहाँ विद्यार्थीले शान्त वातावरणमा पढाइसँगै उत्पादन गर्ने र बिक्री वितरण गर्ने अभ्याससमेत गर्दै आएका छन् ।
कार्यक्रममार्फत विभिन्न बालीका बीउ प्रदान गरी ‘एक विद्यार्थी एक करेसाबारी’ अभियान घरघरमै विस्तार गरिएको बाली विज्ञान संयोजक सुवास अर्यालले बताउनुभयो । यस कार्यक्रमले विद्यालय मात्र नभई समुदायमा पनि व्यवहारिक परिवर्तन ल्याएको उहाँको भनाइ छ ।
विद्यालयको यस अभियानले विद्यार्थीलाई व्यवहारिक ज्ञानसँगै आत्मनिर्भर बन्न प्रेरित गरेको छ । पढाइसँगै सीपमूलक शिक्षा प्रदान गर्न सके भविष्यमा रोजगारीका अवसर सिर्जना गर्न पनि सहज हुने देखिन्छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्मका ६५ विद्यार्थी बाली विज्ञान अध्ययनरत छन् ।
यहाँ विद्यार्थीले उत्पादन गरेका आलु, टमाटर, साग, काउली, बन्दा, महलगायतको बिक्रीबाट प्राप्त आम्दानीमध्ये ७५ प्रतिशत विद्यार्थी, २० प्रतिशत विद्यालय र ५ प्रतिशत प्राविधिक सहयोगीलाई वितरण गरिने व्यवस्था गरिएको छ ।
जिल्लामा यो विद्यालयसहित पूर्णामृत मावि, वालिङ र महिमा मावि, हरिनासमा बाली विज्ञान पढाइ हुने गरेको छ । यो विद्यालय हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल रहँदै आएको छ भने २०८० सालमा देशमै उत्कृष्ट भई सम्मानित भएको थियो ।