काठमाडौँ, जेठ १ गते ।
वाणिज्य बैङ्कले जेठका लागि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन् । बैङ्कले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै निक्षेपको दर थप घटाएका हुन् । उच्च तरलता र कर्जा प्रवाहको सुस्त आर्थिक अवस्थाका कारण बैङ्कले निरन्तर रूपमा ब्याजदर घटाउँदै आएका छन् ।
जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.३४३ प्रतिशत कायम भएको छ, जुन वैशाखका लागि ४.४०२५ प्रतिशत थियो । वैशाखको तुलनामा जेठका लागि सात वटा बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १३ बैङ्कले यथावत् राखेका छन् । औसतमा ब्याजदर ०.०५९५ प्रतिशत विन्दुले घटेको छ ।
अहिले अधिकांश बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा चार प्रतिशतदेखि साढे चार प्रतिशतसम्म ब्याजदर तोकेका छन् । जेठमा सबैभन्दा बढी ४.८० प्रतिशत ब्याजदर एनएमबी बैङ्कले मात्रै प्रदान गरेको छ । ब्याजदर घटाउने बैङ्कमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल, एनआइसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड बैङ्क रहेका छन् ।
यस्तै कृषि विकास, एभरेस्ट, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नबिल, एसबिआई, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ बैङ्कले दर स्थिर राखेका छन् ।