काठमाडौँ, जेठ १ गते ।
सरकारले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । नयाँ नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ ।
मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतीशनारायण जोशी सदस्य रहनुभएको छ ।
समितिले विद्युत् नियमन आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ । यसका लागि १५ दिनको समयसीमा राखेर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।