alliance khabar

मंगलबार, बैशाख २२, २०८३

काठमाडौँ, वैशाख २२ गते ।

 बहुप्रतीक्षित मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालन गर्ने योजना बनेको छ ।

प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार सुरुङमार्गको स्थलगत अनुगमन गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले जानकारी गराउनुभएको हो ।

सुरुङमार्ग कहिलेदेखि सञ्चालनमा आउँछ ?

भन्ने समितिका सभापति गजुरेलको जिज्ञासामा आयोजना प्रमुख नेपालले सो जानकारी गराउनुभएको थियो । आयोजना प्रमुख नेपालले जेठ अन्तिमदेखि सुरुङमार्ग परीक्षण (ट्रायल) सुरु गरिने र साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक किसिमले सञ्चालन गरिने जानकारी गराउनुभएको थियो ।

त्यसै गरी सुरुङमार्ग सञ्चालनमा किन ढिलाइ भयो ? भन्ने सभापति गजुरेलको जिज्ञासामा आयोजना प्रमुख नेपालले २०८२ सालको साउन र भदौमा परेको भारी वर्षाका कारण आयोजनाको पश्चिमी पोर्टलमा गएको पहिरोले आयोजना निर्माण र सञ्चालन ढिलो हुन गएको बताउनुभयो । पहिरोले पश्चिमी पोर्टलको टोल बुथ निर्माणमा ठुलो क्षति पुगेको उहाँको भनाइ थियो ।

त्यसै गरी परामर्शदाता प्रमुख रमेश कोइरालाले कानुनी प्रक्रिया, विभिन्न खाले बन्द हडतालले समेत आयोजनाको काम ढिलो हुन पुगेको बताउँदै भन्नुभयो, “सुरुङमार्ग सञ्चालनका लागि ‘गैरपरामर्श सेवा’ को नयाँ डकुमेन्ट तयार पार्नु प¥यो । सुरुमा सडक विभाग आफैँले चलाउने भने पनि पछि प्रतिस्पर्धाबाट सेवाप्रदायक छान्ने निर्णय भयो । यो नयाँ मोडालिटी भएकाले मन्त्रीपरिषद्सम्म पुगेर निर्णय गराउन समय लाग्यो ।”

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी गराउँदै आयोजना प्रमुख नेपालले आयोजनाको लागत वृद्धि, निर्माणमा भएको ढिलाइ तथा पटक पटक म्याद थप गर्नुको कारण तथा सुरुङमार्ग सञ्चालनका क्रममा गरिएको सुरक्षा प्रबन्धको तयारीबारे समितिका प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार अब छिट्टै नै निर्माण कम्पनीले सो सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

आयोजना प्रमुख नेपालले भन्नुभयो, “उक्त सुरुङमार्ग सञ्चालन गर्न चीनको युसिन–एआरटी कम्पनी (संयुक्त) लाई पाँच वर्षका लागि ठेक्का सम्झौता भइसकेको र सो कम्पनीले अहिले जनशक्ति व्यवस्थापन तथा तिनीहरूलाई आवश्यक प्रशिक्षण दिइरहेको छ । जनशक्ति व्यवस्थापन र प्रशिक्षणको काम सम्पन्न भएको जानकारी प्राप्त भएसँगै सुरुङमार्ग परीक्षण सुरु गरिने छ । परीक्षणपछि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने छ ।” सुरुङमार्ग सञ्चालन गर्न १५० जना जनशक्ति आवश्यक देखिएको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल