काठमाडौँ, वैशाख ८ गते ।
कथाकार नारायण तिवारीको नयाँ कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । काठमाडौँमा शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, आख्यानकार नारायण ढकाल, कवि श्यामललगायतले कथाकृति सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा प्राडा श्रेष्ठले कथा लेखनका दुई पक्ष प्राविधिक र ऐतिहासिकमध्ये प्राविधिक पक्षमा नभई ऐतिहासिक पक्षमा बोल्ने बताउँदै तिवारीका कथा सरल तर गम्भीर हुने गरेको बताउनुभयो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै डा. ज्ञानु अधिकारीले तिवारीका कथा सरल तर खारिएको हुने गरेको बताउनुभयो । प्रत्येक कथा पूर्वी तराई भेगको विराटनगरसँग जोडिएको बताउनुभयो । सङ्ग्रहभित्रका २७ कथामध्ये ‘जमाना खराब छ’, ‘कुर्ता सुरुवाल’ र ‘टुङ्ग–टुङ्ग’ शीर्षकका कथाका बारेमा चर्चा गर्नुभयो ।
कवि श्यामलले कथाकार जस्तै उहाँका कथा पनि सरल र सुललित भएको बताउनुभयो । कथाको गति अविरल बगेको बताउँदै उहाँले कथाको गद्य प्रभावकारी भएको चर्चा गर्नुभयो । श्यामलले नारायणका कथा परम्परागत संरचनाभन्दा फरक रहेको र मैथिली भाषा राम्रोसँग प्रयोग भएको बताउनुभयो ।
आख्यानकार ढकालले तिवारीका कथामा गम्भीरता भएको उल्लेख गर्दै कथा लेखन परम्पराको चर्चा गर्नुभयो । उहाँले कथाकार पुष्करशमशेर, विश्वेश्वरप्रसाद कोइराला र गुरुप्रसाद मैनालीको कथाको चर्चा गर्नुभयो । कथाकार तिवारीले आफ्नो लेखन यात्राबारे सङ्क्षेपमा प्रकाश पार्नुभयो ।