जमुनाह, वैशाख ४ गते ।
नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले गर्नुभयो ।
उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेयले क्रिकेट पूर्वाधार विकासका लागि आवश्यक परे बजेट विनियोजन गरी एक करोड रुपियाँसम्म लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जग्गा उपलब्ध गराइएर खेलकुद तथा क्रिकेटका लागि छुट्याइएमा यसै वर्षदेखि बजेट व्यवस्था गर्छु,” उहाँले भन्नुभयो ।
उहाँले प्रस्तावित जग्गाको प्रत्यक्ष अवलोकन गर्न चाहेको बताउँदै स्पष्टता आवश्यक रहेको उल्लेख गर्नुभयो । “पैसा लगाएपछि काम हुन्छ कि हुँदैन भन्ने विषयमा स्पष्ट हुन चाहन्छु,” उहाँले भन्नुभयो ।
मन्त्री पाण्डेयले एक वर्षभित्र रंगशाला निर्माण सम्भव नभए पनि बहुवर्षीय योजनामार्फत क्रमिक रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । “बहुवर्षीय योजनामा समेटिएमा हरेक वर्ष बजेट सुनिश्चित हुन्छ र नेपालगञ्जमा पनि सिद्धार्थ रंगशालाजस्तै सुविधा विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
खेलकुद क्षेत्रको विकासमा सबैको भूमिका आवश्यक रहेको उल्लेख गर्दै उहाँले लगानी र सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । “हामी प्रायः दर्शक मात्र बन्न चाहन्छौँ, खेलाडी, अम्पायर वा लगानीकर्ता बन्न चाहँदैनौँ,” उहाँले भन्नुभयो ।
उहाँले लुम्बिनी प्रदेशबाट राष्ट्रिय क्रिकेट टोलीमा भएको योगदानको स्मरण गर्दै महिला क्रिकेट विकासका लागि पनि बजेट छुट्याइएको जानकारी दिनुभयो ।
प्रदेश सांसद अम्बिका काफ्लेले नेपालगञ्जमा क्रिकेट मैदानको आवश्यकता रहेको उल्लेख गर्दै मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशलकुमार धोबीले आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा नेपालगञ्जको विशालनगरमा बिहीबार साँझदेखि प्रतियोगिता सुरु भएको हो । टेनिस बलबाट खेलिने प्रतियोगिता १० ओभरको हुनेछ । ३२ टोली सहभागी हुने प्रतियोगितामा उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिनुभयो ।
यो प्रतियोगिता क्लबले आयोजना गरेको चौथो संस्करण हो । क्लबका सचिव साहिल अन्सारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, लुम्बिनी खेलकुद परिषद् तथा अन्य व्यक्ति तथा संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेय, सांसद काफ्ले तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । पहिलो खेलमा रोयल मनकामनाले टस जितेर ब्याटिङ रोजेको थियो ।