काठमाडौँ, चैत २५ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले सो बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयका सचिव माहादेव पन्थद्वारा जारी पत्र अनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्ने छ । सो बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सङ्घीय संसद्मा सचिवालयलाई सम्बोधन गरी पठाइएको पत्रमा उक्त बैठकका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ ।
