लेखनाथ, चैत २४ गते ।
गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् ।
गुरुङ समुदायले साउन र चैत महिनाका अन्तिम मङ्गलबार यो पर्व मनाउने गर्छ । मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सोमबार सूचना प्रकाशन गरी गाउँपालिका कार्यालय, मातहतका कार्यालयहरु र शैक्षिक संस्थामा बिदा दिइएको उल्लेख गर्नुभएको छ । उहाँले पालिकाका सिक्लेस जस्ता ऐतिहासिक गाउँहरूमा चैतका मङ्गलबारहरूमा ‘गाउँ वार्ने’ अझै रहेको बताउनुभयो ।
“गाउँ वार्ने दिनमा प्रकृतिलाई असर पुग्ने कुनै पनि कार्य गर्न नहुने विश्वास गरिन्छ । त्यसो गरे प्रकृति रिसाएर विपत्ति आउँछ भन्ने विश्वास गर्ने गरिएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो । कास्कीकै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पनि ट्होटें पर्वलाई भव्य रुपमा मनाउन गाउँपालिकाले बिदा दिएको बताउनुभयो ।
गुरुङ जातिको महान पर्व ट्होटेंमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले पनि बिदा दिएको छ । तमु धिं कास्की अध्यक्ष हुमबहादुर गुरुङले सङ्घ सरकारले नै राष्ट्रिय क्यालेन्डरमा समावेश गरी यो पर्वमा बिदा दिनुपर्नेमा जोड दिनुभयो । कास्कीमा शुभकामना र्यालीसहित भव्य रुपले पर्व मनाउने तयारी रहेको उहाँको भनाइ छ ।
कास्कीसहित देश, विदेशमा रहेका गुरुङ समुदयाले मङ्गलबार ट्होटें पर्व मनाउँदै छन् । गुरुङ समुदायले ट्हो अर्थात् राज्यको सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउँदै आएको छ । गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती र टेंको अर्थ राज्यबाट शत्रु धपाउनु भन्ने हुन्छ ।