गुलरिया (बर्दिया), चैत २३ गते ।
बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको आठ महिनामा १५ हजार आठसय जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म पर्यटकले निकुञ्ज प्रवेश गरेका हुन् ।
सहजै बाघ देख्न सकिने निकुञ्जको रुपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा हरेक वर्ष बृद्धि हुँदैगएको छ । चालु आर्थिक वर्षको हाल निकुञ्ज प्रवेश गर्नेमा एघार हजार ३९ जना नेपाली चार हजार ८८ जना विदेशी र छसय ७३ जना सार्क मुलुकको पर्यटकहरू रहेका छन् ।
निकुञ्जमा सबैभन्दा बढी कात्तिक महिनामा पर्यटकहरू प्रवेश गरेका छन् । सबैभन्दा कम साउन महिनामा प्रवेश गरेका छन् । कत्तिक महिनामा चार हजार दुईसय ७३ जना पर्यटक प्रवेश गरेका छन् । साउन महिनामा २३ जना मात्र पर्यटक प्रवेश गरेका छन् ।
तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष पर्यटकहरू बढी आएको निकुञ्जका अधिकारीको भनाइ छ । बाघ देखिने र पर्यटकहरू निकुञ्ज घुम्न आउने सिजन अझै बाँकी रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताउनुभयो ।
आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न एकसय, सार्क मुलुकका पर्यटकलाई सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि एक हजार ५ सय शुल्क लाग्ने गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो । फागुन मसान्तसम्म पर्यटन, प्रशासनिक सेवा शुल्क, वन क्षेत्रको रोयल्टी, दण्ड जरिवाना लगायतबाट तीन करोड एक लाख ५४ हजार नौसय नब्बे रुपियाँ राजस्व संकलन भएको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्ष २०८१–८२ मा निकुञ्जमा २८ हजार ६७ जना प्रवेश गरेका थिए । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा २६ हजार एकसय ३१ जना निकुञ्ज प्रवेश गरेका थिए । आर्थिक वर्ष २०७९–८० मा २४ हजार तीनसय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
पछिल्लो समय निकुञ्जमा भ्रमण गर्न आउने नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले पहिले पर्यटक भनेकै विदेशी हुन् वा निकुञ्ज घुम्ने विदेशीले मात्र हो भन्ने धारणा कम भएको छ । अहिले तुलनात्मक रुपमा बाघ लगायतका जंगली जनावर हेर्नका लागि निकुञ्ज प्रवेश गर्ने नेपाली बढिरहेका छन् ।’
विशेषगरी विदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको बाक्लो उपस्थिति हुन्छ । हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जंगल सफारी, जंगल वाल्कको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा पर्नेगरेको छ ।