alliance khabar

सोमबार, चैत्र २३, २०८२

लहान, चैत २३ गते ।

स्थानीयवासीहरूले कञ्चनपुर–कमला सडक निर्माण आयोजना अन्तर्गत लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण कार्यले तीव्र गति लिनुपर्ने माग गरेका छन् ।

पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको कञ्चनपुर–कमला चार लेन सडकअन्तर्गत पश्चिमी खण्ड कुशहा–कमला खण्डमा पर्ने लहान नगरपालिकाको मुख्य चोकमा निर्माणाधीन फ्लाइओभर (उडान पुल) को काम अत्यन्त सुस्त रूपमा भइरहेकाले आवागमनमा समस्या, ट्राफिक जाम तथा व्यापार–व्यवसायमा समेत ह्रास आएको स्थानीय व्यापारीहरूको गुनासो छ ।

स्थानीय व्यापारी–व्यवसायीहरूको माग पूरा गराउन जिल्ला उद्योग वाणिज्य संघ लहान, सिरहाले पहल थालेको संघका अध्यक्ष प्रदीपकुमार गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार लहानको मुख्य चोक आसपासका व्यापारीहरूको व्यापार चौपट हुनुका साथै धुलो र हिलोका कारण स्वास्थ्य समस्या समेत देखिन थालेको छ । यस विषयमा निर्माण कम्पनी चाइना रेलवे कम्पनीसँग छलफल गरिएको र कम्पनीले अप्रिल १५ गतेदेखि काम तीव्र गतिमा अघि बढाउने विश्वास दिलाएको उहाँले बताउनुभयो ।

“सम्झौताअनुसार काम अघि बढेन भने लहानका स्थानीय व्यापारी–व्यवसायी आन्दोलनमा उत्रिनु बाहेक अर्को विकल्प रहने छैन,” उहाँले भन्नुभयो ।

स्थानीयसँग पटक–पटकको छलफल इलाका प्रहरी कार्यालय लहानमा सम्पन्न भई लहानको सहरी क्षेत्रमा फ्लाइओभर निर्माण र दुवैतर्फ कालोपत्र गर्ने सम्झौता भए पनि त्यसअनुसार काम हुन सकेको थिएन ।

दुई दिनअघि स्थानीयले तीन घण्टा चक्काजाम गरेपछि अन्तिम पटक अप्रिल १५ गतेबाट काम सुरु गर्ने सहमति इलाका प्रहरी कार्यालय लहानमा भएको प्रहरी नायव उपरीक्षक कैलाश राईले बताउनुभयो ।

यता कुशहा–कमला पश्चिम खण्डका योजना प्रमुख उज्ज्वल श्रेष्ठले तीन वर्षमा सकिनुपर्ने निर्माण कार्य म्याद थपिँदै छ वर्ष पुग्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाइना कम्पनीका प्रमुखहरूसँग अन्तिम पटक भएको सम्झौताअनुसार अप्रिल १५ गतेबाट तीव्र गतिमा निर्माण कार्य अघि बढाइने उच्चस्तरीय सहमति भएको हो ।”

नयाँ प्रबन्धक आएपछि काम अब नरोकिने योजना प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम पूरा गर्न अन्तिम पटक प्रयास गरिएको हो । यस पटक पनि काम सम्पन्न भएन भने ठेक्का नै रद्द गर्नुपर्ने अवस्था आउन सक्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल