रौतहट, चैत १९ गते।
रौतहटको मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण कार्यको थालनी गरेको छ। नगरपालिकाको वडा नं. ९ सोनरनियामा रहेको करिब डेढ बिघा ऐलानी जग्गामा एकीकृत दलित बस्ती निर्माण हुन लागेको नगरप्रमुख रीना कुमारी साहले जानकारी दिनुभयो। झोपडीमुक्त नगरपालिका बनाउने नगरवासीसँग गरिएको वाचा पूरा गर्न कुनै कसर बाँकी नराखिने उहाँले बताउनुभयो।
नगरप्रमुख साहले बुधबार एक कार्यक्रमबिच एकीकृत दलित बस्तीको शिलान्यास गरेसँगै निर्माण कार्य अघि बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद साहले बताउनुभयो।
योजनाअन्तर्गत ३० दलित परिवारका लागि शौचालय र खानेपानी सुविधासहित दुई कोठे पक्की घर निर्माण गरिनेछ। त्यस्तै बस्तीभित्र सडक, नाला लगायत आधारभूत पूर्वाधारसमेत निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
एकीकृत दलित बस्ती निर्माणका लागि नगरपालिकाले प्रिसा–शृष्टि–श्रीराम जेभीसँग २०८२ माघ ९ गते सम्झौता गरेको छ। परियोजना २०८५ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निर्माण कम्पनीले कुल चार करोड ३९ लाख ७४ हजार १७७ रुपियाँ ३४ पैसामा ठेक्का सकार गरेको छ। उक्त रकममध्ये ३० प्रतिशत लागत मौलापुर नगरपालिकाले व्यहोर्नेछ भने बाँकी ७० प्रतिशत रकम राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो।
मौलापुर नगरपालिकाले यसअघि वडा नं. २ मर्यादपुर र वडा नं. ५ मौलापुरमा पनि एकीकृत बस्ती निर्माण गरिसकेको छ। वडा नं. २ मर्यादपुरस्थित बस्तीमा २५ घरपरिवार र वडा नं. ५ मौलापुरस्थित बस्तीमा १७ घरपरिवार बसोबास गर्दै आएका छन्।
यस योजनाले दलित समुदायलाई सुरक्षित आवास, आधारभूत सुविधा तथा सम्मानजनक जीवनयापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको मौलापुर नगरपालिकाले जनाएको छ।