म्याग्दी, चैत १७ गते ।
म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी संख्या घटेपछि यस वर्ष एउटा स्थानीय तह परीक्षा केन्द्रविहीन बनेको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका अनुसार गत वर्षको तुलनामा एकसय ८१ जना परीक्षार्थी घटेपछि रघुगंगा गाउँपालिकाको परीक्षा केन्द्र हटाइएको हो । यस वर्ष जिल्लाभर २ हजार ३५ जना विद्यार्थीका लागि आठ वटा मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस वर्ष जिल्लाबाट साधारणतर्फ नियमित १ हजार ६३५ जना र ग्रेडवृद्धीतर्फ ३३५ जना तथा प्राविधिक धारतर्फ नियमित ६६ जना र ग्रेडवृद्धीतर्फ ९ जनाले एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विदुर चापागाईंले जानकारी दिनुभयो ।
परीक्षामा छात्रा १ हजार ४६ जना र छात्र ९८९ जना सहभागी हुनेछन् । यही चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि म्याग्दीमा आठ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका आइपुगेको र केन्द्राध्यक्ष नियुक्त गरी जनशक्ति व्यवस्थापनको काम सकिएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
परीक्षा सञ्चालनका लागि प्रकाश माध्यमिक विद्यालय बेनी, बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी, न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय बेनी र माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीलाई परीक्षा केन्द्र तोकिएको छ । त्यसैगरी मंगला माध्यमिक विद्यालय बाबियाचौर, जनप्रिय माध्यमिक विद्यालय दरवाङ, हेम माध्यमिक विद्यालय शिवाङ तथा पोखरे आधारभूत विद्यालयलाई पनि परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाका ६ स्थानीय तहमध्ये बेनी नगरपालिकाभित्र चार वटा तथा अन्य चार गाउँपालिकामा १-१ वटा परीक्षा केन्द्र तोकिएको छ भने यस बर्ष रघुगंगा गाउँपालिका एसइई परीक्षा केन्द्र विहिन बनेको छ । रघुगंगामा विगतका वर्षहरुमा मुक्तिधाम माध्यमिक विद्यालय भगवतीमा केन्द्र तोकिने गरेको भए पनि यस वर्ष हटाइएको छ । त्यस्तै बेनी नगरपालिका–४ स्थित धवलागिरी माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयका परीक्षा केन्द्र पनि यस वर्ष हटाइएका छन् ।
धवलागिरी मावि परिक्षा केन्द्रका विद्यार्थीहरुलाई पायक पर्ने गरी मंगला र बेनीका परीक्षा केन्द्रमा समावेश गरिएको छ भने मुक्तिमार्ग माविको परीक्षा केन्द्र हटेपनि गाउँपालिकाको पहलमा पोखरेबगरमा नयाँ परीक्षा केन्द्र तोकेर पालिकाभरका सबै विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाईएको छ ।
रघुगंगाको मुक्तिधाम मावि परीक्षा केन्द्रमा विद्यार्थी संख्या कम भएको र केहि विद्यालयहरुले परीक्षा केन्द्रलाई अपायक पर्ने भनेपछि त्यहाँका विद्यार्थीहरु सबैलाई बेनीमै नयाँ परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने व्यवस्था गरीएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
जिल्लामा परीक्षा केन्द्र तोकिएका मध्ये धवलागिरी गाउँपालिकाको सिवाङस्थित हेम माध्यमिक विद्यालयमा २४४, मालिका गाउँपालिकाको दरवाङस्थित जनप्रिय माध्यमिक विद्यालय केन्द्रमा २८४ जना, मंगला गाउँपालिकाको बाबियाचौरस्थित मंगला माध्यमिक विद्यालय केन्द्रमा २८४ जना र अन्नपूर्ण गाउँपालिका–६ पोखरे आधारभूत विद्यालय केन्द्रमा १३९ जना विद्यार्थी सहभागी हुनेछन् ।
बेनीको माउन्ट एभरेष्ट आवासीय मावि बेनी केन्द्रमा २४० जना, प्रकाश मावि केन्द्रमा २६६ जना, बेनी सामुदायिक माविमा २८८ जना र न्यू वेस्ट पोइन्ट आवासीय माविमा २७७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।