लहान, चैत १२ गते ।
लहान नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा पर्ने वडा नम्बर १६ तरेगनामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।
वि.सं. २०५६ सालमा सुरु भएको उक्त आयोजना २६ वर्षपछि लहान नगरपालिका र विकन परियोजनाअन्तर्गत वाटरएडको सहयोगमा सञ्चालनमा आएको हो। लामो समयदेखि अलपत्र रहेको आयोजना पुनः सञ्चालनमा आएपछि स्थानीयमा खुशी छाएको हो।
दुई लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण सम्पन्न भए पनि बोरिङ जडान सफल हुन नसक्दा आयोजना लामो समयसम्म रोकिएको थियो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले नेपाल खानेपानी संस्थान लहानलाई हस्तान्तरण गरेपछि वाटरएड नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दलित जनकल्याण युवा क्लब नेपालको पहलमा खानेपानी दिवसको अवसर पारेर आयोजना सञ्चालनमा ल्याइएको हो।
ओभरहेड ट्यांकी निर्माणपछि स्वच्छ खानेपानी प्रयोग गर्ने आशा गरेका स्थानीयहरू बोरिङ जडान असफल भएपछि निराश बनेका थिए। स्थानीय देवेन्द्र यादवले भन्नुभयो, “ओभरहेड ट्यांकी हेरेरै चित्त बुझाउनुपर्ने अवस्था आएको थियो, तर खानेपानी दिवसको अवसरमा आयोजना सञ्चालनमा आएपछि २६ वर्षको सपना पूरा भएको छ।”
नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतका अनुसार करिब पाँच सय घरपरिवारलाई २४ घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ दोस्रो प्रयासमा आयोजना सफल भएको हो।
चुरे क्षेत्रमा पर्ने तरेगनामा पानीको मुहान सुक्दै जाँदा हरेक वर्ष खानेपानीको अभाव हुने गरेको थियो। अब भने उक्त समस्याबाट मुक्ति मिलेको वडाध्यक्ष गरुलबहादुर जर्घा मगरले बताउनुभयो। उहाँले भन्नुभयो, “यस आयोजना सफल बनाउन लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब तथा विकन परियोजनाको भूमिका प्रशंसनीय छ।”
लहान नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार नगरपालिकाको सहरी क्षेत्रबाट टाढा रहेका वडा नम्बर १३, १४, १५, १६, १७, १८ र २३ मा अलपत्र रहेका खानेपानी आयोजनाहरू सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ। उहाँले भन्नुभयो, “खानेपानी आयोजना लहान नगरपालिका र नेपाल खानेपानी संस्थानको मातहतमा आएपछि कामले गति लिएको छ।”