तनहुँ, चैत ११ गते ।
सुक्खायामसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि तनहुँमा त्यसको नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लास्तरीय वन डढेलो द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत राजकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरिएको हो । वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको अवसर पारेर गठन गरिएको उक्त टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरू समेटिएको छ ।
सुक्खा मौसममा सानो लापरबाहीले समेत ठुला वन डढेलो निम्त्याउने भएकाले यसले वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पार्ने गरेकोले गठन गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । डढेलोले गर्दा नजिकका बस्तीमा धुवाँ फैलिँदा बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू विशेष रूपमा प्रभावित हुने गरेका छन् । यसले कृषियोग्य जमिन, घाँसपात र जैविक विविधतामा समेत क्षति पु¥याउने गर्दछ । यस्ता जोखिम न्यूनीकरण गर्न डढेलो लागेको अवस्थामा तत्काल घटनास्थलमा पुगेर नियन्त्रण गर्ने, क्षति कम गर्ने र सम्बन्धित निकायबीच समन्वय कायम गर्ने उद्देश्यले टोली गठन गरिएको हो ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले डढेलो लाग्नै नदिन जनचेतनामूलक सन्देश प्रवाहलाई प्राथमिकता दिइने बताउनुभयो । “डढेलो नियन्त्रणमा समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ, त्यसैले सबैको सक्रिय सहभागिता आवश्यक छ,” उहाँले भन्नुभयो । तीनवटै तहका सरकार, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूह र सञ्चारकर्मीबीच सहकार्य सुदृढ गर्दै जिल्लाभर रणनीतिक रूपमा डढेलो नियन्त्रण अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।