कल्याणपुर (सप्तरी), माघ १५ गते ।
नेपालकै पहिलो चन्द्रनहरको पुनर्निर्माणपछि जापान सरकारले बुधबार एक समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित आयोजित हस्तान्तरण समारोहमा जापानका राजदूत सिन्तो एसबारुले नेपाल सरकारका ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजात हस्तान्तरण गर्नुभएको हो ।
पूर्व तराई क्षेत्रका १० हजार पाँच सय हेक्टर कृषियोग्य भूमिमा सहज सिँचाइ सेवा पु¥याउने उद्देश्यले १९२७ सालमा निर्माण गरिएको चन्द्रनहर सिँचाइ प्रणालीको जापान सरकारको सहयोगमा मर्मतसम्भार तथा सिँचाइ सुविधाको पुनस्र्थापना गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
पूर्वी तराई क्षेत्रको सिँचाइ प्रणाली पुनस्र्थापना आयोजना हस्तान्तरण समारोहमा जापानका राजदूत सिन्तो एसबारुले नेपालको विकासमा जापान सरकारले आउने दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।
जापानी सहयोग संस्था नियोग (जेआइसिए) को दुई अर्ब पाँच करोड १० लाख रुपियाँको अनुदान सहयोगमा चन्द्रनहर प्रणालीको मूल नहरमा भत्केका ३२ स्थानमा सिँचाइ संरचनाको पुनर्निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको राजदूत एसबारुले बताउनुभयो ।
उक्त सिँचाइ संरचना पुनर्निर्माणका लागि नेपाल र जापान सरकारबिच सन् २०२२ सेप्टेम्बर ११ मा अनुदान सहयोग सम्झौता भएको थियो । सम्झौता समयभन्दा तीन दिनअगावै निर्माण कम्पनी हाजामा आन्दो कर्पोरेसनको सक्रियतामा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सफल भएको परामर्शदाता एनटिसी इन्टरनेसनल कम्पनी लिमिटेडका प्रतिनिधि याकुरा मोसुले बताउनुभयो ।
विगत लामो समयदेखि चन्द्रनहर सिँचाइ प्रणालीको मूल नहर विभिन्न छ ठाउँमा गरी २८ किलोमिटर जीर्ण हुँदा किसानलाई सिँचाइमा समस्या हुँदै आएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले पूर्वी तराई क्षेत्रको सिँचाइ प्रणाली पुनस्र्थापना आयोजना परियोजना अन्तर्गत जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस नहरले नेपालको पूर्वतराई क्षेत्रका कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सिँचाइ व्यवस्थापन कार्यालय सप्तरीका प्रमुख वीरेन्द्रकुमार यादवले मूल नहरको स्तरोन्नतिले अब सिँचाइका लागि पर्याप्त पानी वितरण गर्न सहज भएको भन्दै मूल नहरपछि अब करिब सय वर्ष पुरानो र जीर्ण अवस्थामा पुगेको शाखा नहरको पनि स्तरोन्नतिमा जापान सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
करिब २८ किलोमिटर लामो मुख्य नहरको विभिन्न ठाउँमा पुल, ओभर पाससहितका ३२ वटा जीर्ण संरचना पुनर्निर्माण गरिएको छ । दुई अर्ब पाँच करोड १० लाख रुपियाँ अनुदान सहयोगमा सम्पन्न उक्त परियोजनाले सप्तरीको कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान दिने कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजनका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । जलस्रोत तथा ऊर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यको अध्यक्षतामा हस्तान्तरण समारोहको आयोजना गरिएको थियो ।