alliance khabar

आइतबार, माघ ११, २०८२

सर्लाही, माघ ११ गते ।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ एक्कासि चर्चामा आएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेसँगै सिङ्गो देशकै ध्यान सर्लाही–४ केन्द्रित हुन पुगेको हो । भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो गढ मानिन्छ । यसै क्षेत्रबाट डा. अमरेशकुमार सिंह लगातार तीन पटक चुनाव जितेर संसद्मा प्रवेश गर्दा २०७० र ०७४ मा कांग्रेसबाट नै विजयी हुनुभयो ।

२०७९ मा नेपाली कांग्रेसको संस्थापन पक्षसँग कुरा नमिलेपछि सिंहले पार्टीबाट टिकट पाउन सक्नुभएन ।  त्यसबेला कांग्रेसबाट टिकट हात पार्नुभएका पूर्वजिल्ला सभापति नागेन्द्र कुमारलाई एक हजार ७६४ मतान्तरले पराजित गर्दै स्वतन्त्र (कांग्रेसका बागी) बाट उम्मेदवारी दिनुभएका सिंह तेस्रो पटक यो क्षेत्रबाट सांसदमा निर्वाचित हुनुभएको थियो । सिंह कांग्रेसबाट उम्मेदवार  रहँदा २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रलाई एक हजार ४६४ मतान्तरले पराजित गर्नुभएको थियो । त्यसबेला सिंह २९ हजार छ सय मत प्राप्त गरी निर्वाचित हुँदा राजपाका मिश्रले २८ हजार १३६ मत प्राप्त गर्नुभएको थियो ।

अब फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार तथा पार्टी सभापति थापाले सर्लाही–४ बाट ह्याट्रिक गरिसक्नुभएका सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने समीकरण बनेको छ । २०७९ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी हुनुभएका निवर्तमान प्रतिनिधि सभा सदस्य सिंहले  यो पटक मनोनयन दर्ताको केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी सोही पार्टीबाट उम्मेदवारी दिनुभएको छ ।

सर्लाही–४ मा कांग्रेस सभापति थापा, रास्वपाका सिंहसहित नेकपा (एमाले) का अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिश राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, जनमत पार्टीका राकेशकुमार मिश्रलगायत ३९ जना चुनावी मैदानमा हुनुहुन्छ । सर्लाही–४ मा संविधान सभा सदस्य शिवपुजन राय यादवले नेपाली कम्युनिस्ट पार्टीबाट अर्कैलाई टिकट प्रदान गरिएपछि मनोनयनकै दिन पार्टी परित्याग गरी छोरा अमनिश यादवलाई नेकपा एमालेबाट टिकट दिलाएर चुनावी मैदानमा होमिनुभएको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही–४ मा एक लाख २१ हजार १२ जना मतदाता कायम भएका छन् । यो निर्वाचन क्षेत्रको ८१ मतदान स्थलमध्ये सुरक्षाको हिसाबले सबै अति संवेदनशील सूचीमा पर्छन् ।

निर्वाचन क्षेत्रमा आउँदै सभापति थापा 

कांग्रेस सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा आउँदै हुनुहुन्छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तापछि थापा पहिलो पटक निर्वाचन क्षेत्रमा आउन लाग्नुभएको हो । टिकट वितरणमा व्यस्त हुँदा थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो । नेपाली कांग्रेस प्रदेश कार्यसमितिका उपसभापति एवं मधेश प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले सभापति थापा सोमबार दिउँसो निर्वाचन क्षेत्रमा आएर चार दिनसम्म बस्नुहुने बताउनुभयो । “अहिलेलाई चार दिन निर्वाचन क्षेत्रमा नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ,” सिंहले भन्नुभयो, “केही दिनपछि पुनः काठमाडौँबाट आएर घरदैलो गर्ने गरी तयारी गर्दै छौँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल