हेटौँडा, माघ १ गते ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरू खुशी र समृद्ध जीवनका आधार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व–२०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वहरूमा नेपाली समाजको मौलिकता र विशिष्टता झल्किने उल्लेख गर्नुभयो ।
“विविधताको सुन्दर फुलवारीमा राष्ट्रिय एकता, मेलमिलाप, सहिष्णुता र सह–अस्तित्व फक्रिँदा सुन्दर, शान्त र विशाल नेपालमा परमआनन्दको अनुभूति हुन्छ,” प्रदेश प्रमुखले भन्नुभयो । उहाँले सांस्कृतिक सम्पन्नता र गौरवलाई कायम राख्दै सुन्दर, शान्त र समृद्ध देश निर्माणमा एकजुट भएर अघि बढ्न पर्वले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
माघे सङ्क्रान्ति तथा माघी पर्वको उल्लासमय अवसरमा वागमती प्रदेश, स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति उहाँले सुस्वास्थ्य, दीर्घायू, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
माघे सङ्क्रान्ति नेपालका थारू र मगर समुदायको प्रमुख पर्व मानिए पनि देशभर आ–आफ्नै शैलीमा मनाइने गर्छ । थारू समुदायले यसलाई नयाँ वर्षका रूपमा समेत ग्रहण गर्छ । पर्वको दिन नदी, ताल तथा जलाशयमा स्नान गरी ध्यू, चाकु, तिलको लड्डु, खिचडी, तरुललगायत पारम्परिक परिकार ग्रहण गर्दै हाँसीखुसी मनाउने चलन छ ।

