alliance khabar

शुक्रबार, पुष २५, २०८२

नेपालगन्ज, पुस २५ गते ।

पछिल्ला वर्षमा बाँकेका निजी जग्गामा बिरुवा रोप्ने क्रम बढ्दै गएको छ । निजि जग्गासँगै सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा समेत बिरुवा रोप्ने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाभर ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरिएको बताउनुभयो । उहाँले सो अवधिमा कार्यालयले पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरेको पनि जनाउनुभयो ।

वितरण गरिएका बिरुवामध्ये करिब चार लाख एकवर्षीय र एक लाख ३४ हजार बहुवर्षीय प्रजातिका रहेका योजना शाखाका वरिष्ठ वन अधिकृत सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार ती बिरुवा कृषकका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा हरियाली विस्तार, वातावरणीय सुधार र आयआर्जन प्रवर्धन गर्ने उद्देश्यले वितरण गरिएका थिए ।

वरिष्ठ वन अधिकृत सुवेदीले थप्नुभयो, “जानकी गाउँपालिकामा वनक्षेत्र छैन, खजुरा र बैजनाथमा पनि वनक्षेत्र न्यून रहेको छ । यस्तो अवस्थामा दाउरा, काठ र हरियालीको आवश्यकता निजी तथा सार्वजनिक जग्गामा बिरुवा रोपेरनै पूर्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।” कृषकले निजी खेतबारीमा रुख रोप्नुको मुख्य कारण छिटो प्रतिफल प्राप्त हुनु, घरेलु आवश्यकताको पूर्ति हुनु र बिक्रीबाट आम्दानीको अवसर हुनु रहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार बाँकेका कृषक छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसबाट ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुगेको छ ।

जिल्लामा वितरण गरिएका एकवर्षीय बिरुवातर्फ सागवान, युकालिप्टस र खयरको माग बढी छ भने बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफुल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनका बिरुवाको माग बढी छ । कृषकले सागवान र युकालिप्टसजस्ता छिटो बढ्ने प्रजातिका बिरुवा झनै बढी रोज्ने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपासका क्षेत्रमा भेनियर उद्योग, प्लाइउड उद्योग, इट्टा उद्योग तथा जडिबुटी प्रशोधन उद्योगमा काठ र दाउराको खपत बढी रहेकाले निजी खेतमा लगाइएका रुखको माग बढ्दै गएको छ ।

साथै प्राकृतिक वन पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा प्राथमिकता दिइँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगन्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको छ । यस वर्ष ६ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ जिल्लाका आठ नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका कार्य तीव्र रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल