alliance khabar

बुधबार, साउन १४, २०८२

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै धारण गर्नेहरू (तागाधारीहरू) को धार्मिक पर्व जनैपूर्णिमा पर्व आउँछ । यो पर्व ब्राह्मण, क्षेत्रीय एवं वैश्य आदि जातिको चोखो, पवित्र एवं प्रमुख पर्व हो ।

व्रतबन्ध गरी जनै धारण गर्नेहरूका लागि यो तिथि उत्तम तिथि एवं दिन मानिन्छ । वैदिक कालदेखि लिएर महर्षिहरूका कालसम्म सबै वर्ण वर्गका मानवले यो कर्म गर्दै आएका छन् । यो पर्वलाई ऋषितर्पणी, जनै फेर्ने पूर्णिमा, रक्षाबन्धन, क्वाँटी खाने पूर्णिमा आदि विभिन्न नामले जानिन्छ ।

यस दिन सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, जमदग्नी, गौतम र वशिष्ठहरूलाई तर्पण दिइन्छ । यसैले यो पर्वलाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यस दिन ब्राह्मण एवं गुरुपुरोहितद्वारा विधिपूर्वक मन्त्रिएको नयाँ जनै लगाई गत वर्ष या उपनयन संस्कार गर्दा लगाइएको जनै सेलाउने गरिन्छ । यसैले यस दिनलाई जनैपूर्णिमा पर्व भनिएको हो ।

सप्तर्षिलाई तर्पण दिइसकेपछि आफ्नो शरीरको रक्षाका लागि ब्राह्मण एवं पुरोहितद्वारा विधिपूर्वक मन्त्रिएको डोरो आफ्नो हातको नाडीमा बाँध्ने कार्य गरिन्छ । यस दिन मास, मुगी, केराउ, भटमास आदि नौ थरीका द्विदलीय जातका गेडागुडी भिजाएर टुसा उमारी पकाएर क्वाँटीका रूपमा खाइन्छ । यसैले यस दिनलाई क्वाँटी खाने पर्व पनि भनिन्छ ।

नयाँ जनै धारण गर्ने तागाधारीले श्रावण शुक्ल चतुर्दशीका दिन एक छाक हविष्यान्न भोजन गरी ब्रह्मचर्य नियम पालना गरेका हुन्छन् । पूर्णिमाको दिन नयाँ जनै धारण गर्नुअघि झिसमिसेमै कुनै पवित्र तीर्थ, जलाशय या आफूलाई पायक पर्ने नदीको तीरनजिकै गएर देह शुद्ध गरी सप्तर्षिको पूजाआजा गर्नु आवश्यक छ । आफ्नो देह शुद्धिका लागि यस दिन विशेष किसिमले नियमपूर्वक एवं मन्त्रपूर्वक स्नान गर्नु पर्दछ । जनैपूर्णिमाको दिन स्नान गर्दा पूर्वज ऋषिमुनि, देवता, पितृ, पशुपन्छी, जलचर, थलचर आदि विशेषलाई सम्झी कुश, गोबर, दुबो, अपामार्ग आदि आफ्नो शरीरमा स्पर्श गर्दै सप्तमृत्तिका लगाएर आआफ्नो शरीरको पाउदेखि खुट्टासम्म मार्जन गरी अन्त्यमा देह स्नान गरिन्छ र ऋषिहरूलाई तर्पण पनि दिइन्छ ।

तर्पण दिइँदा वंशप्रवर्तक, गोत्रप्रवर्तक ऋषिहरूलाई तर्पण दिई पानी चढाइन्छ । यसपछि मात्र स्नान कार्य पूरा भएको मानिन्छ । यसरी सामूहिक रूपले नुहाउने कार्य पूरा भएपछि र सप्तर्षिलाई तर्पण दिइसकेपछि जनै र डोरोलाई मन्त्रने काम गरिन्छ । एउटा ठूलो भाँडोमा जनैको झुप्पो राखेर कुशका सप्तर्षिको प्रतीक बनाई रुद्राभिषेक पद्धतिबाट गुरु पुरोहितद्वारा नयाँ जनै र डोरो (रक्षासूत्र) लाई बेसार या केशरमा रङ्गाई मन्त्र पढ्दै विधिपूर्वक मन्त्रिइन्छ । हवन कार्य आदिद्वारा मन्त्रिएको जनैलाई यज्ञोपवित (यज्ञसूत्र) भनिन्छ । यसरी मन्त्रिएको रक्षासूत्र गुरु पुरोहित, ब्राह्मण या ज्वाइँहरूद्वारा मन्त्रपूर्वक लगाइन्छ । जनै लगाउँदा निम्न मन्त्र पढ्दै जनै लगाइन्छः ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः । 

तेन त्वां प्रतिबध्नामी रक्षे मा चल मा चल ।।’ 

अर्थात् भगवान् वामन अवतार रूपि विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाका लागि जुन बन्धनले बाँधेका थिए त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु, तपाईंको रक्षा होस् ।

मन्त्रिएको जनै धारण गर्नेबित्तिकै गत वर्ष लगाइएको पुरानो जनै पनि शरीरबाट झिकी यसलाई चुँडालेर मन्त्रपूर्वक चोखो ठाउँ (तुलसीको मठ) मा सेलाइन्छ । यसरी विधिपूर्वक मन्त्रिएको नयाँ जनै र डोरो लगाउनाले वर्षभरि आइपर्ने रोगव्याधि, आपत्विपत् हानिनोक्सानी, भूतप्रेत आदि पनि नहुने तथा आफू र आफ्नो परिवारको समेत रक्षा हुने विश्वास गरिन्छ ।

विधिविधानपूर्वक निर्माण गरी मन्त्रिएको डोरो धारण गर्दा यसले दीर्घायु, सद्बुद्धि, ओज एवं बलसमेत प्रदान गर्दछ भनी शास्त्रमा उल्लेख भएको छ । यससँग सम्बन्धित कथा पुराणमा पनि पाइन्छन् । एक पटक देवराज इन्द्र र असुरहरूबीच भएको युद्धमा असुरशक्ति प्रबल बनी देवगणलाई दबाउन मोर्चा लिई रणयुद्धमा अघि स¥यो । देवगणहरूले आफ्नै शक्तिले भ्याएसम्म यसको सामना त गरे तर लामो समयसम्मको युद्धमा  देवगणले असुरशक्तिमाथि विजय हासिल गर्न सकेनन् ।

यस घटनापछि इन्द्रले आफ्ना गुरु बृहस्पतिलाई कुनै उपाय अपनाउन सकिन्छ कि भनी निवेदन गरे । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । गुरु बृहस्पति पनि पूर्णिमाको दिन बिहानै सुरक्षाका लागि रक्षाविधान (रक्षासूत्र) तयार गरी इन्द्रको हातमा बाँध्न पुगे । त्यस बेलादेखि सुरक्षित रहनका लागि गुरु एवं पुरोहितहरूको हातबाट डोरो बाँध्ने चलन चल्यो भनिन्छ ।

यस दिनलाई क्वाँटी भात खाने पर्वका रूपमा पनि परिभाषित गरिएको छ । विशेष गरी नौ थरीका द्विदलीय गेडागुडीको सम्मिश्रण जस्तै केराउ, चना, मुगी, मास, सिमी, भटमास आदिलाई भिजाएर टुसा उमारी मरमसला हाली पकाई क्वाँटीको रूपमा खाइन्छ । क्वाँटी र यसको रस खाँदा पहिले देवीदेवतालाई चढाई त्यसपछि सपरिवार सँगै बसेर रमाइलो गरी खाने गरिन्छ ।

क्वाँटी खानाले पेटसम्बन्धी विभिन्न रोग निको हुनुका साथै शरीरमा चिसोबाट भएको गडबडी एवं वर्षाको पानीबाट भएको अस्वस्थता निको हुन्छ भनेर धर्मग्रन्थमा पनि उल्लेख भएको पाइन्छ । यस पूर्णिमालाई ‘क्वाँटी पुन्ही’ पनि भन्ने चलन छ । खेतीपाती गर्ने कृषकवर्ग यो दिनलाई ज्यादै महìवका रूपमा मान्दछन् । किसानले भ्यागुताको पूजासमेत गर्दछन् ।

भ्यागुताले राति टर् टर् गरेर सामूहिक रूपमा आवाज निकाल्न थालेपछि स्वर्गका देवता इन्द्रले पानी पार्न थाल्छन् भन्ने विश्वास गरी भ्यागुताको पूजा गर्ने चलन चलेको हो । साथै कुनै समयअगाडि नेपाल उपत्यका प्रवेश गरेर नरसंहार गर्न खोज्ने घण्टासुर भन्ने राक्षसलाई भ्यागुताले हिलोको दलदलमा पारी फसाएको थियो र नगरवासीले मौकाको फाइदा लिई नर्कटले पिटी त्यस राक्षसलाई मारेका थिए भन्ने विश्वास गरिन्छ ।

यसरी उक्त राक्षसलाई मार्नमा सहयोग पु¥याएको भ्यागुताको सो गुण सम्झी वर्षैपिच्छे पूर्णिमाको दिन त्यसको पूजाआजा गर्ने चलन छ । सो दिन खेतको गरागरातिर मुहाननजिकै गएर बोडीको पातमा क्वाँटीभात र फूल चन्दन राखी भ्यागुतालाई भोजन खुवाउने गरिन्छ । भ्यागुताको पूजाआजापश्चात् चार दिनसम्म खेतको रखवाली यिनले नै गर्छन् भनी किसान खेतमा हेर्न जाँदैनन् । यस दिन नेवार जातिले कागको पनि पूजा गर्छन् । मानिसलाई शुभ अशुभ सबै प्रकारका सूचना दिने कागले पनि यस संसारमा फैलिएका किराफट्याङ्ग्रा खाएर मानिसलाई सहयोग गर्दै आएको उनीहरूको धारणा छ ।

जनैपूर्णिमाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको रक्षाबन्धन/राखी बाँधेर टीका लगाइदिने चलन पनि छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहारसहित दक्षिणा पैसा दिएर दिदीबहिनीको रक्षा गर्ने वचन दिन्छन् ।

एक शास्त्रीय कथा अनुसार यमदूतले आफ्नी बहिनी यमुनासँग राखी बाँध्ने सन्दर्भमा “जसले यस पवित्रताको राखी बाँध्ने काम गर्दछ ऊ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ ।” यसर्थ रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनको श्रेष्ठता एवं निडरतासँग छ ।

यसै दिन काठमाडौँको ठँबहिल (विक्रमशील महाविहार) मा विशेष रूपले सजाएर राखिने श्रावण पूर्णिमाको प्रदर्शनीमा महायानी बौद्धमार्गीको सबभन्दा ठूलो दर्शनग्रन्थ ‘शतसाहस्रिका प्रज्ञापारमिता’ प्रदर्शन गरिन्छ । निलपत्रमा, रञ्जनाक्षरमा, संस्कृत भाषामा लेखिएको यो एक लाख श्लोक भएको धर्मग्रन्थ चार खण्डमा सम्पूर्ण रूपमा सुवर्णाक्षरले लेखिएको छ । यो अद्वितीय ग्रन्थको दर्शन गर्नका खातिर तिब्बती लामा र तीर्थयात्रीको त्यहाँ घुइँचो लाग्दछ ।

एक जनैमा ९६ सुत प्रयोग भएको हुन्छ । नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरेर यसलाई तयार गरिन्छ । जनैमा प्रयोग गरिने जुन नौ गुणा छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गर्छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन् । यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन् ।

जनैका दुई शिखामध्ये एक शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । जनैको नौ सुतमा भिन्न भिन्न नौ देवताको अधिष्ठान गरिएको हुन्छ । जुन यस प्रकार वर्णन गरिएको छ । प्रथम देवता ॐ कारको गुण हो ब्रह्मज्ञान । द्वितीय देवता अग्निदेवको गुण हो तेज । तृतीय देवता अनन्तको गुण हो धैर्य । चतुर्थ देवता चन्द्रदेवको गुण हो शितलता । पञ्चम देवता पितृदेवको गुण हो स्नेहशीलता । षष्ठ देवता प्रजापतिको गुण हो प्रजापालन तत्परता । सप्तम देवता वायुको गुण हो बलयुक्तता । अष्टम देवता सूर्यको गुण हो प्रकाशता । नवम् देवता सर्वदेवताको गुण हो सात्विकता ।

यी गुणको प्रतीक मानिने यज्ञोपवितलाई ब्रह्माले सूत्र पैदा गरे । विष्णुले तीन गुणा गरे । शिवजीले गाँठो अर्थात् शिखा पारे । यी त्रिदेवले तयार पारेको यज्ञोपवितलाई सावित्रीले अभिमन्त्रित गरिन् । यस्तो पवित्र यज्ञोपवित पूूजा गरेर विधिपूर्वक धारण गर्नाले सम्पूर्ण उक्त गुणले घोषित हुन जान्छ भन्ने विश्वास गरिन्छ ।

कुनै पनि धार्मिक कर्म गर्दा र जुठो सूतकबाट जोगिँदा आजकै दिन मन्त्रिएको जनै फेरेर शुद्ध भइन्छ भन्ने भनाइ छ । जनै धारण गर्दा नाभीभन्दा माथि अथवा तल हुनु हुँदैन ठिक्क नाभीसम्म मात्र हुनुपर्छ भन्ने शास्त्रमा मान्यता छ । शुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणीले कातेको धागोको जनै बनाएर जनैपूर्णिमाको दिन वैदिक मन्त्रद्वारा पूजा गरिएको जनै धारण गर्नुपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

यस दिन काठमाडौँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय तथा उपत्यकाको उत्तरपूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा भक्तजनको मेला लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल