घोराही, असार ९ गते ।
अभिनयमा रुचि राख्ने दाङ घोराहीकी वर्षा मगरले अभिनयको रहर पूरा गर्न म्युजिक भिडियोलाई माध्यम बनाउनुभयो । अभिनयसम्बन्धी कुनै तालिम वा शैक्षिक उपाधि नलिए पनि उहाँले मोडलिङ र म्युजिक भिडियोलाई भने निरन्तरता दिई रहनुभयो । यद्यपि उहाँमा अभिनयसम्बन्धी तालिम वा उपाधि हासिल गर्ने हुटहुटी भने थियो । उहाँको त्यो चाहना घोराहीमा सञ्चालन भइरहेको पाँचदिने अभिनयसम्बन्धी कार्यशालाले पूरा गरिदिएको छ ।
कार्यशालामा सहभागी भएपछि मगरमा आत्मविश्वास बढेको छ । उहाँ भन्नुहुन्छ, “पहिले चलचित्र र गीत हेर्दै अभिनय सिक्दै आएको थिएँ । अहिले कार्यशालाले सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान दिएको छ ।” दाङ चलचित्र र म्युजिक भिडियोका लागि राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले ज्ञान हासिल गरेपछि अवसर पाउने आशामा रहेको उहाँ बताउनुहुन्छ । स्थानीय युवामा अभिनयप्रति भएको रुचिलाई ध्यानमा राख्दै पहल नेपालले आयोजना गरेको पाँचदिने अभिनय कार्यशालामा दाङसहित बर्दिया, पश्चिम रुकुम, रोल्पा र रुपन्देही जिल्लाका युवा सहभागी छन् । पहल नेपालका अध्यक्ष केएल बुढाथोकीले कार्यशालामा अभिनयसम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा सञ्चालन गरेर चलचित्र र रङ्गमञ्चमा भविष्य खोज्ने नयाँ पुस्तालाई ज्ञान/सिपले सघाउ पु¥याएको बताउनुभयो ।
उहाँका अनुसार कार्यशालामा अभिनयमा रुचि राख्ने सहभागीलाई अभिनय अभ्यास र चरित्रसँगको सम्बन्ध, अभिनेता–अभिनेतृको तयारी, छायाङ्कन तयारीबारे पनि जानकारी दिइने छ । असार १० गतेसम्म चल्ने कार्यशालाको प्रशिक्षकका रूपमा वरिष्ठ अभिनेता एवं नाट्यकर्मी भोलाराज सापकोटा रहनुभएको छ ।