लासहरूको झुण्डमा
ममताको मखुण्डो खोजेर हुत्तिएको म
बैँस बोकेर
अत्तालिएको एउटा तिरस्कृत जिन्दगी
पाइन हालेर
किन तेजिलो बनाइरहनुपरेको हो मलाई
अनुत्तरित मन उत्तर खोजिरहेको छ ।
आउँदै चिहाउँदै जाँदै गरिरहन्छ जीवन
मृत्युको बागडोर
सह्माल्न पनि त जीवन चाहिन्छ
जिन्दगी छैन भने
भरोसायोग्य मृत्यु कहाँ सम्भव हुन्छ र ?
भरोसाले जीवन बाँच्दै थिएँ
थाहा छैन, मृत्यु किन गिज्याइरहन्छ मलाई ?
भो ! मलाई
रोगको अधीनको मृत्यु स्वीकार्य छैन
किमोथेरापी
मृत्युका लागि कि ?
जीवन जिउनका लागि हो ?
ओ ! क्यान्सर !
तैँले नि मर्नुपर्ला नि एक दिन
विनाअर्थ किन
तीखा दाह्रा धस्छस् जिन्दगीका आधारहरूमाथि ?
नबोली नबोली
जीवनको अँगालोमा झुण्डिएर बिस्तारै
आफ्ना फँडाहरू
सुस्तरी फिँजाउँदै जीवनका गोरेटाहरूमा
जिन्दगी चिथोरिरहने /चिमोटिरहने
समयसत्य नै अवसानको नागबेली आकार
जीवनको शुरुआत र विलय हुनसक्छ !
हो ! यसैलाई
त्रासको डोरीले घिस्याएर
सलल जिन्दगी चलाइरहेका बेला
रहर हुँदाहुँदै
एक जिन्दगी पूरा बाँच्ने मेरो रहरमाथि चढेर
आँफ्नै जीवनको
सालनालको पोको बोकेर
म कालसँग पौँठेजोरी खोजिरहेको छु
मृत्यु ! किन जिस्काउँछस् मलाई ?
टंकमणि अधिकारी