alliance khabar

मंगलबार, आषाढ ०२, २०८२

सिरहा, असार ३ गते ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ ।

स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गर्नुभयो । “ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छौँ”, उहाँले भन्नुभयो ।

अर्नमा गाउँपालिका–३ का सिकेन्द्र यादवले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो धुलोले थप पीडा भएको बताउनुभयो । सिरहा क्षेत्र नं ३ मा पर्ने यो सडक हरेक चुनावमा चुनावी मुद्दा बन्ने गर्छ । तर, चुनावसँगै यो सडकको मुद्दा हराएर जाने गरेको यादवको भनाइ छ । उहाँले भन्नुभयो, “प्रत्येक आमचुनावमा आश्वासनमात्र पाइयो । निर्माण सुरु भएपछि त समयमै सम्पन्न होला भन्ने आशा पलाएको पनि थियो । तर समस्या ज्यूँका त्यूँ रह्यो ।”

हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले झण्डै पाँच वर्षदेखि यो सडक निर्माण गरिरहेको छ । ट्रयाक खोलेर सडक कालोपत्रका लागि २०७७ साल भदौमा ठेक्का स्वीकार भई २०७९ साल फागुन २३ भित्र काम सम्पन्न हुनेगरी तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभएको थियो । तर यो लामो अवधिभरमा अहिलेसम्म सडकका केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक खासै काम भएको छैन ।

यस अवधिमा निर्देशनालयले पहिलोपटक २०८० साल फागुन २२ र दोस्रोपटक २०८१ साल फागुन २२ सम्म एक–एक वर्ष गरी दुईपटक म्याद थप गरिदिएको छ । यो म्याद सकिसक्दा पनि अहिलेसम्ममा सडकको भौतिक प्रगति करिब २८ प्रतिशतमात्र रहेको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो । उहाँले पुनः अन्तिमपटकलाई ठेकेदार कम्पनीलाई एक वर्षको म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आशा गरौँ, यो अवधिभित्र काम सम्पन्न हुन्छ, भएन भने हामी ठेकेदारलाई कारबाही गर्ने प्रक्रियातर्फ अगाडि बढ्छौँ ।”

यो सडक निर्माणमा ठेकेदार कम्पनी र निर्देशनालयको बेवास्ताका कारण यहाँका सर्वसाधारणले सास्ती भोग्नुपरेको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवको गुनासो छ । समयमै काम सम्पन्न गर्न ठेक्का लिएको निर्माण व्यवसायी कम्पनीलाई अनुरोध गरे पनि अहिले उनीहरू सम्पर्कमै आउन छाडेको अध्यक्ष यादवले बताउनुभयो ।

निर्देशनालयले सडक निर्माणका लागि रु ९१ करोड ३९ लाख ७९ हजार ६० मा निर्माण व्यवसायी कम्पनीलाई ठेक्का दिएको थियो । अहिलेसम्म ठेकेदार कम्पनीलाई भ्याटबाहेक रु २५ करोड ४९ लाख सात हजार ७१४ भुक्तानी भइसकेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल