alliance khabar

शुक्रबार, माघ १२, २०८०

काठमाडौँ, १२ माघ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । समितिले विसं २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने जनाइएको छ ।

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ जसअनुसार समितिले प्रत्येक वर्ष केही न केही सुधार गर्ने गरेको जनाइएको छ ।

विसं २०७९ देखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । विगतका दुई वर्ष स्वीकृति लिएरमात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरेको थियो । जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ तर स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेको छैन । कारबाही गर्ने निर्देशिका नबनेकाले विगत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको उहाँले स्वीकार्नुभयो ।

समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । विसं २०७९ देखि नै भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन् । यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ । जसअनुसार मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने जनाइएको छ ।

अनुगमन समितिले आवश्यकताअनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ । निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ । समितिले स्वीकृति दिएका पात्रो सारेर भित्तेपात्रो प्रकाशन गर्ने तर स्वीकृति नलिनेलाई कारबाही गर्ने तयारी गरिएको हो ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य भित्तेपात्रो भने विभागको भित्तेपात्रो र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार पनि कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ ।

विगत वर्षजस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल