ओखलढुङ्गा, मङ्सिर ९ गते । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणको काम गुणस्तरहीन भए निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनुभयो ।
साघुटार–घोराखोरी–सिलौरीघाट सडकको कालोपत्रेको काम ढिलाई भइरहेको र गुणस्तरहीन भएको जनस्तरबाट गुनासो बढ्न थालेपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सभापति खतिवडाले यस्तो बताउनुभएको हो । साघुटार–घोराखोरी–सिलौरीघाट सडक जिल्लाको लाइफलाइनका रुपमा रहेको उहाँको भनाइ छ ।
यो सडकको कालोपत्रेको काम स्तरीय नभएमा ठेक्का पाएको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सन प्रालि र अनुगमन गर्ने निकाय हर्कपुर सडक डिभिजन कार्यालयलाई समेत कारबाही गरिने खतिवडाले चेतावनी दिनुभएको छ । सडक कालोपत्रेका लागि आवश्यक बजेटका लागि आफुले पहल गर्ने सभापति खतिवडाले प्रतिबद्धता जनाउनुभएको छ ।
यसका साथै जिल्लाका सम्पूर्ण वडाहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पु¥याउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभयो । साघुटार–घोराखोरी–सिलौरीघाट सडक कालोपत्रेको काम गत वर्षदेखि साघुटार क्षेत्रबाट प्रारम्भ भएको छ ।
चम्पादेवी गाउँपालिकाको आयोजनामा घोराखोरीमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चम्पादेवी गाउँ पालिका अध्यक्ष नबराज केसी, लिखु गाउँ पालिका अध्यक्ष अशोक कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रुद्र अधिकारी, ओखलढुङ्गा नेपाली कांग्रेस जिल्ला सचिव अजय लुइटेल, सडक डिभिजन कार्यालयको निमित्त प्रमुख सुनिल निरौला, सडक कालोपत्रेको ठेक्का पाएको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्शनका प्रतिनिधि राजन सुवेदी लगायत स्थानिय नागरिक सरोकारवालाहरुको सहभागिता रहेको थियो ।