alliance khabar

आइतबार, कार्तिक २६, २०८०

बेदकोट (कञ्चनपुर), २६ कात्तिक : फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताउनुभयो ।

“फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन् ।” बजारमा प्लाष्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उहाँको भनाइ छ । “प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ”, उहाँले भन्नुभयो, “अब फूलले बजार पाउने आशा छ ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । उहाँले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गर्नुभएको छ । “फूलको बीउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूलखेती छ”, उहाँले भन्नुभयो, “फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ ।”

उहाँका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ । उहाँले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्नुभएको थियो । फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ ।

“फूल र माला बनाएर बेच्ने गर्छौ, रु पाँच सय प्रतिकिलो ग्रामका दरले फूल बेच्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “रु एक सयको फूलमाला बिक्री गर्ने गरेका छौँ ।” स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो । दोस्रो ठूलो चाड तिहारको हर्षोल्लास गाउँसहरमा छाएको छ । घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन् । बारीमा फूल ढकमक्क फुलेका छन् । तिहारमा घर सिङ्गार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल