धनकुटा, कात्तिक २२ गते ।
आधुनिकतासँगै हराउँदै गएको काठको रोटे पिङ पछिल्लो सयम परम्परागत रुपमा जोगाउन थालिएको छ । गाउँघरमा दसैँ तथा तिहार लगायतका चाडपर्व, मेला महोत्सवमा लगाइने काठको रोेटे पिङको परम्परागत रुपमा जोगाउन थालिएको होे ।
गाउँघरका स्थानीय युवा तथा बुद्धिजीवीहरुको अगुवाइमा काठको रोेटे पिङ लगाउन थालिएको छ । त्यसो त पहिला चाडपर्व तथा दसैँ तिहार आउनु अगावै नै गाउँघरमा पिङ लगाउने प्रचलन रहेको थियो । नयाँ प्रविधिको विकास तथा आधुनिकतासँगै गाउँघरको परम्परा केही परिमार्जित भएको धनकुटाका स्थानीय भुवन चापागाई बताउनुहुन्छ । बासको लिङ्गे पिङ तथा काठको रोटे पिङ मात्र नभइ लोप हुँदै गएका परम्परा जोगाउन युवापुस्ता नै लागेकोे उहाँ बताउनुहुन्छ ।
चौतारा तथा टोलमा चाडपर्वमा काठको रोटे पिङ लगाउन थालेसँगै गाउँघरमा भिन्नै उत्साह देखिएको छ । घर बाहिर बसेकाहरु दसैँ तिहार तथा चाडपर्व मनाउन घर फर्किएसँगै गाउँघरमा पिङप्रतिको मोह देखिन्छ । त्यसो त, दसैँमा टिका लगाएर धर्ति छाड्नु पर्छ भन्ने मान्यता रही आएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई पिङको रौनक लागेको छ ।
पछिल्लो समय गाउँघरमा युवा पुस्ताहरुको अगुवाईमा काठको रोटे पिङ र बासको लिङ्गे पिङ बनाउन जुटेका छन् । काठ, बाँस, डोरी र अन्य आवश्यक सामाग्री खोज्ने तथा सामग्री जुटाएर पिङ लगाउने गरेको छथरजोरपाटी गाउँपालिका–३, ताङ्खुवाका सुन्दर कटेल बताउनुहुन्छ । गाउँमा लगाइएको उक्त पिङमा बालबालिका, युवा र वृद्धावृद्धहरु समेत पालैपालो रमाइलो गर्ने गरेका छन् । यसले गाउँमा साथीभाईसँगको आत्मीयता र सामूहिकताको भावना बलियो बनाउन पनि मद्दत पुर्याएको छ ।
विभिन्न प्रजातिका काठबाट निर्माण गरिने रोटे पिङ पूर्वी पहाडी जिल्ला लगायत धनकुटाका विभिन्न ठाउँका गाउँघरमा देख्न थालिएको छ । यो जनजीवनको एक मौलिक पहिचान नै हो । पिङ निर्माणमा आवश्यक काठको व्यवस्थापनदेखि पिङ तयार पार्नेसम्म स्थानीयहरु सामूहिक भेला भएर लगाउने गरेका छन् । पिङ गाउँको मनोरञ्जनको साधनका रुपमा मात्रै नभई सामाजिक एकताको माध्यम समेत हो ।
गाउँघरबाट सेवा, सुविधा र अवसरको खेजीमा बसाइँसराइ गरेर सहर तथा तराई जान थाले पछि गाउँघर रित्तो हुँदै गएको छ । युवापुस्ताको रोजगारीका लागि विदेश पलायन, परम्परागत सीपको अभाव र आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोगले काठे, रोटे पिङ तथा बाँसको लिङ्गे पिङ लगाउने चलन घट्दै गएको हो । तर पछिल्लो समय युवा पुस्ता नै यसको संरक्षणमा लागेको पाईन्छ । मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तह, सामाजिक संस्था, युवा क्लब र समुदायले चासो दिन आवश्यक रहेको जानकारहरू बताउँछन् ।
