सल्यान, कात्तिक १९ गते ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले शारदा नगरपालिका–५, तल्लोमार्केस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा सञ्चालित बाल संरक्षण छात्रावासको अवलोकन गर्नुभएको छ ।
सल्यानको अनुगमनका क्रममा मन्त्री बादीले छात्रावासमा आश्रित बालबालिकाको अवस्था, खानपान, आवासीय सुविधा, शिक्षा र स्वास्थ्यबारे जानकारी लिनुभएको हो ।
२०८२ जेठ ८ गतेदेखि सञ्चालनमा आएको छात्रावासमा हाल ४८ जना बालबालिका छन् । तीमध्ये २५ जना छात्रा र २३ जना छात्र छन् । छात्रावासमा बुवाआमा दुवै गुमाएका पाँच जना, बुवा नभएका १२ जना, आमा नभएका ११ जना, विपन्न परिवारका १३ जना र भौगोलिक विकटताका कारण शिक्षाको पहुँचमा समस्या भएका सात जना बालबालिका रहेका छन् ।
अवलोकनका क्रममा मन्त्री बादीले बालबालिकासँग भेटघाट गर्दै उनीहरूको आवश्यकता र समस्याबारे जानकारी लिनुभयो । बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकास राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले छात्रावासका आवश्यकता तथा समस्यालाई आगामी योजना र कार्यक्रममा समेट्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्थानीय प्रशासन र सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग गर्नसमेत उहाँले निर्देशन दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर वलीले सबैको सहयोगमा कठिनाइका साथ छात्रावास सञ्चालन गरिरहेको बताउनुभयो । छात्रावासका लागि भवनलगायत आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै उहाँले बालबालिकाको सहज बसोबास र पठनपाठनका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो ।
छात्रावासमा बालबालिकाको हेरचाह र व्यवस्थापनका लागि एक जना भान्सेसहित पाँच जना कर्मचारी कार्यरत छन् ।
