काठमाडौँ, कात्तिक १९ गते ।
सरकारले विभिन्न तीन वटा निकायमा रिक्त प्रमुखहरूको पदमा नियुक्ति गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा, निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको हो ।
नवनियुक्त तिनै जनालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिनुभयो । त्यस्तै कोषका भण्डारीलाई संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन उहाँले निर्देशन दिनुभयो ।
नेप्सेका सुवेदीलाई नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री डा. वाग्लेले इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
विभिन्न निकायमा रिक्त पदका लागि अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थिए । प्राप्त आवेदनमध्येबाट विभिन्न चरण पार गर्दै उत्कृष्टलाई नियुक्तिका लागि अर्थ मन्त्रालयले मन्त्रीपरिषद्लाई सिफारिस गरेको थियो ।
