तनहुँ, कात्तिक १९ गते ।
किसानलाई पुष्प खेतीमा प्रोत्साहन, उत्पादनमा अनुदान र स्थानीय फूलको प्रयोगलाई प्राथमिकता दिन थालेपछि तनहुँको व्यास नगरपालिका फूल उत्पादनमा आत्मनिर्भर बनेको छ ।
तिहारमा आवश्यक सयपत्री र मखमली फूल नगरभित्रै उत्पादन हुन थालेपछि स्थानीय किसानको आम्दानी बढ्नुका साथै पुष्प खेती व्यावसायिक बन्दै गएको छ ।
नगरपालिकाले पुष्प खेती विस्तार तथा प्रवर्धनका लागि किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट सयपत्री र मखमली फूल खेती गर्ने किसान, कृषि फर्म, कृषक समूह तथा सहकारीलाई उत्पादनका सामग्री खरिदमा सहयोग पुगेको छ ।
नगरपालिकाले बीउ तथा बेर्ना, मलखाद, प्लान्ट हर्मन तथा सूक्ष्म तत्व, कृषि औजार र उपकरण एवं बाली संरक्षण सामग्री खरिदमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । कार्यक्रमले किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न सहयोग पुगेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्थानीय उत्पादनको खपत बढाउन फूल खेती गर्ने किसानको विवरणसमेत सार्वजनिक गरेको छ । नगरपालिकाको विवरणअनुसार व्यास नगरपालिका–४ को चापाघाट कृषि फार्म, वडा नं. १० को कृप कृषि तथा पशु फार्म, वडा नं. १३ को मान्तिरीबारी फार्मलगायत विभिन्न स्थानका किसानले सयपत्री र मखमली फूल खेती गर्दै आएका छन् ।
फूल उत्पादनलाई प्रोत्साहन गर्नेसँगै नगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूलमाला तथा सजावटी सामग्रीको उत्पादन, आयात, बिक्रीवितरण, भण्डारण र प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी कृत्रिम फूलमालाको सट्टा प्राकृतिक फूल तथा स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्थानीय उत्पादनको प्रवर्धन, किसानको आम्दानी वृद्धि र वातावरण संरक्षणलाई जोडेर पुष्प खेती विस्तारको कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
उहाँले स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन पुग्नुका साथै नगरको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने बताउनुभयो । तिहार, छठ, विवाह, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा स्थानीय किसानले उत्पादन गरेका सयपत्री र मखमली फूल प्रयोग गर्न आग्रह गरिएको छ ।
