काठमाडौँ, कार्तिक १७ गते ।
त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक वस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनी द्धारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्धारा जारी प्रमाणपत्रहरु हुलाक सेवा कार्फत विद्यार्थीको सम्पर्कसहितको पूर्ण ठेगानामा विद्यार्थी समक्ष पुर्याउने उल्लेख गरिएको छ । २२ बुँदामा समेटिएको उक्त सम्झौता पत्रमा शैक्षिक प्रमाणपत्र एवं अन्य कार्यालयीय पत्रहरुलाई व्यवस्थित गर्न विभागले हुलाक वस्तुलाई ट्रयाकिङ बारकोडसहित (पोस्टल ट्रयाकिङ सिस्टम) मा दर्ता गरी सम्बन्धित गन्तव्य ठेगानासम्म पुर्याउने उल्लेख गरिएको छ।
कीर्तिपुरस्थित रजिष्ट्रारको कार्यालयमा आयोजित सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले समग्र सेवाप्रवाहलाई हुलाकसेवासँग समन्वय गरी घरमै पुर्याउने लामो समयदेखिको सपना पुरा भएकोमा आफु निकै हर्षित भएको बताउनुभएको थियो ।
यसैगरी हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हुलाकसेवा नागरीक र राज्यलाई जोडने सबैभन्दा प्रभावकारी संयन्त्र भएको उल्लेख गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय मार्फत जनताको सेवालाई घरघरमा पुर्याउने जिम्मेवारी प्राप्त भएको बताउनुभएको थियो ।
सम्झौतापत्रमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रा.डा लक्ष्मण पौडेल र गोश्वारा हुलाक कार्यालय, डिल्लिबजारका प्रमुख हुलाक अधिकृत ढाल बहादुर जि.सी ले हस्ताक्षर गर्नुभएको छ ।
