बागलुङ, असोज २० गते ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुलमा क्षति पुर्याएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाटको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बाढीले बागलुङ नगरपालिका–४ ढोडेनीदेखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने झोलुङ्गे पुलसमेत बगाएपछि बागलुङ नगरपालिका–१ निरयघाटदेखि पर्वतको खनियाघाट जोड्ने झोलुङ्गे पुल दुई जिल्लाबीच आवतजावतका लागि वैकल्पिक बनेको थियो।
एक सातादेखि उक्त पुलमा मोटरसाइकलको चाप बढेपछि ट्राफिक प्रहरीले भीड नियन्त्रणका लागि एकतर्फी यातायात सञ्चालन गर्दै आएको थियो। अत्यधिक सवारीसाधन सञ्चालन हुन थालेपछि पुल हल्लिने, पैदलयात्रीलाई आवतजावतमा समस्या हुने तथा पुल चिप्लो बन्न थालेपछि स्थानीयको आग्रहमा बागलुङ र पर्वत प्रशासनले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन्।
कालीगण्डकी पुल मर्मतको काम अहिले तीव्र गतिमा भइरहेको छ। पैदलयात्रीका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्दा पुल नै जोखिममा पर्न थालेपछि सवारीसाधन चलाउन रोक लगाउनुपरेको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो।
उहाँका अनुसार पुलमा दैनिक सयौँ सवारीसाधन सञ्चालन हुन थालेपछि पुल हल्लिनुका साथै वरपरका पिलरमा समेत असर परेको छ। पुलका नट–बोल्टसमेत खसेका कारण थप मर्मत गर्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो।
बाढीका कारण यातायात अवरुद्ध भएपछि खनियाघाटमा पछिल्लो समय चहलपहल बढेको छ। काठमाडौँ, पोखरा, चितवनलगायत लामो दूरीमा चल्ने सवारीसाधन यहीँबाट छुट्न थालेका छन्। बागलुङ–कुश्मा चल्ने स्थानीय बससमेत खनियाघाटसम्म आउन थालेपछि दैनिक आवतजावत गर्ने यात्रुले पनि यहीँबाट यात्रा गर्ने गरेका छन्।
स्थानीय दुर्गाबहादुर आचार्यका अनुसार खनियाघाट धेरै वर्षअघि व्यापार व्यवसायका लागि चहलपहल हुने स्थान थियो। मालढुङ्गामा कालीगण्डकी पुल निर्माण भई सवारीसाधन सञ्चालन हुन थालेपछि खनियाघाटको व्यापार घटेको उहाँले बताउनुभयो।
खनियाघाटतर्फ खेतीपाती भएका बागलुङका धेरै बासिन्दा रहेकाले उनीहरू नियमित रूपमा यही पुलमार्फत आवतजावत गर्ने गरेको आचार्यले बताउनुभयो।
