खजुरा (बाँके), असोज १९ गते ।
विद्युत्को सुरक्षित प्रयोगसम्बन्धी चेतना विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म पुर्याउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण, कोहलपुर वितरण केन्द्रले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले विद्युत्सँग सम्बन्धित जोखिमबारे विद्यालय तहदेखि नै विद्यार्थीलाई सचेत गराउन सके त्यसको प्रभाव घरपरिवार हुँदै समुदायसम्म पुग्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
विद्यार्थीले घरमा विद्युत् प्रयोग गर्दा अभिभावकलाई आवश्यक सावधानी अपनाउन सम्झाउन तथा समाजमा विद्युत् सुरक्षासम्बन्धी जानकारी फैलाउन सक्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
“नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयको कार्यक्रमअनुसार यो अभियान सञ्चालन गरिरहेका छौँ। विद्यार्थीमार्फत विद्युत् सचेतना फैलाउँदा घर–समाजमा सकारात्मक सन्देश जाने र विद्युतसम्बन्धी जानकारी बढ्ने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “विभिन्न विद्यालयमा निरन्तर सचेतना अभियान सञ्चालन गरिरहेका छौँ। हरेक वितरण केन्द्रले पायक पर्ने विद्यालयमा यो अभियान सञ्चालन गरिरहेका छन्। असोजको पहिलो सातादेखि सुरु भएको कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ।”
कोहलपुरका विभिन्न विद्यालयमा सचेतना अभियान सञ्चालन गरिरहेको वितरण केन्द्रले कोहलपुर–१० स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पनि कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कक्षा ९ मा अध्ययनरत करिब ९० जना विद्यार्थीलाई विद्युत्को सुरक्षित प्रयोग, विद्युत् चोरी नियन्त्रण तथा चुहावटबाट हुने जोखिमबारे जानकारी दिइएको थियो।
विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुखसहितको टोलीले विद्यार्थीलाई विद्युत् प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, विद्युतीय दुर्घटनाबाट बच्ने उपाय, प्राविधिक तथा गैरप्राविधिक विद्युत् चुहावट नियन्त्रण र अनलाइनमार्फत विद्युत् महसुल भुक्तानीका विषयमा जानकारी दिएको थियो।
कार्यक्रममा विद्युत् चोरी नियन्त्रणका लागि भएका कानुनी व्यवस्थाका साथै समयमै विद्युत् महसुल भुक्तानी गर्नुपर्ने विषयमा समेत जानकारी दिइएको थियो। सहभागीलाई घरमै बसेर अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्ने प्रक्रियाबारे पनि प्राधिकरणको टोलीले जानकारी गराएको थियो।
विद्युत्को असुरक्षित प्रयोगका कारण करेन्ट लाग्ने, आगलागी हुने तथा मानवीय क्षति हुन सक्ने जोखिम रहेकाले सामान्य सावधानी अपनाएर यस्ता घटना न्यूनीकरण गर्न सकिनेमा कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकले विद्युत् शक्तिको सुरक्षित, मितव्ययी र नियमसम्मत प्रयोग गर्ने तथा आफूले प्राप्त गरेको जानकारी परिवार र समुदायमा समेत फैलाउने प्रतिबद्धता जनाएका थिए।
विद्यालय परिवार तथा विद्यार्थीको सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी भएको कोहलपुर वितरण केन्द्रले जनाएको छ। प्राधिकरणले विद्युत् सुरक्षासम्बन्धी जनचेतना विस्तारका लागि विद्यालय तथा समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
