Alliancekhabar

बुधबार, कार्तिक ०१, २०८०

टीकापुर (कैलाली), १ कात्तिक : यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ ।

हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा धानबाली र केराखेतीमा क्षति भएको छ । पाँच बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्याउँदा उहाँलाई निकै पीडा भएको छ ।

“उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्यो”, साउदले भन्नुभयो, “वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।”

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । उहाँको बारीमा पनि क्षति भएको छ । “अहिलेसम्म कति बोट ढले भन्ने यकिन छैन”, उहाँ भन्नुहुन्छ, “किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्यो ।”

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ ।

केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा हावाहुरीले केरामा धेरै क्षति पुर्याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । “कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ”, थारूले भन्नुभयो ।” हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो ।

अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गर्नुभएको छ । “हामीले बाली बीमा गर्नुस् भनिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ ।”

कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्याएको छ । हावाहुरीले टीकापुर–४ मा २६ घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल