नागोया (जापान), असोज ६ गते ।
२० औँ एसियाली खेलकुदमा नेपालले मार्सल आर्ट्सबाट पदकको अपेक्षा राखेको छ । जसमध्ये उसु पनि एक हो । यद्यपि नेपाली उसुले सोमबार निराश पारेको छ । आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा भएको उसु प्रतियोगिताको दोस्रो दिन महिला छाङक्वान फाइनल इभेन्टमा सुस्मिता तामाङले १३ औँ स्थान हासिल गर्नुभयो । उहाँले कुल ९.५८० अङ्क प्राप्त गर्नुभएको थियो ।
सात वर्षको उमेरमै पाँचौँ राष्ट्रिय खेलकुदमा रजत पदक जितेर सनसनी फैलाउनुभएकी सुस्मिता आफूले सर्वश्रेष्ठ प्रदर्शन गरेर पनि पदक जित्ने स्कोर गर्न नसकेकोमा दुःखी हुनुभयो । सन् २०१४ मा भएको एसियाडदेखि लगातार यस खेलकुद मेलामा खेल्न आउनुभएकी सुस्मिताले उसुमा नेपाल र चीनलगायत अन्य शीर्ष देशबिचको स्तरमा ठुलो अन्तर भएको बताउनुभयो । “उनीहरूको प्रशिक्षण उच्चस्तरीय हुन्छ । उनीहरूले तालिम गर्ने म्याट र प्रतियोगिता खेल्ने म्याट एकैस्तरको हुन्छ, त्यसैले हामीलाई खेल्दा केही बेफाइदा नै हुन्छ । म्याटको गुणस्तर धेरै राम्रो छ, हामीलाई यसको बानी छैन । वैदेशिक तालिममा यस्तो म्याट हामीले पाएनौँ । पदक जित्ने टिमका खेलाडी र हामीले पाउने सुविधा पनि फरक छ,” उहाँले भन्नुभयो ।
१६ खेलाडीको सहभागिता रहेको सो इभेन्टमा हङकङकी हुई यु लिडिया सामले ९.७१३ अङ्कसहित स्वर्ण पदक जित्नुभयो । मकाउकी चो मान साउ (९.७१०) ले रजत र इन्डोनेसियाकी युगेनिया दिभा विडोडो (९.७०६) ले कांस्य पदक जित्नुभयो ।
पुरुष ताइचिक्वान फाइनलमा नेपालका हरिप्रसाद गोले १२ औँ स्थानमा रहनुभयो । १५ खेलाडी सहभागी सो इभेन्टमा गोलेले ९.६३० अङ्क प्राप्त गर्नुभयो । गोलेले ताइचिक्वानमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो । सो इभेन्टमा ९.५०६ अङ्कसहित गोले १५ औँ स्थानमा रहनुभयो । यी दुवै इभेन्टमा चीनका देवान लिउले स्वर्ण पदक जित्नुभएको थियो । गोलेले पनि एसियाड जस्तो प्रमुख खेल मेलामा आफूले सर्वश्रेष्ठ प्रदर्शन गरे पनि पर्याप्त नभएको बताउनुभयो । “हामीलाई उच्चस्तरीय खेलाडीसँग धेरैभन्दा धेरै अनुभव दिलाउनुस्, स्तरीय प्रशिक्षणमा पठाउनुस्, पक्कै पनि नतिजा फरक हुने छ,” उहाँले भन्नुभयो । एसियाडअघि नेपालको उसु टिमले चीनमा प्रशिक्षण गरेको थियो ।
दक्षिण एसियामा नेपाली उसुको छवि निकै राम्रो छ तर चीन, दक्षिण कोरिया, इन्डोनेसिया, मकाउ जस्ता टिम सामेल हुने एसियाली खेलकुदमा खेल्दा भने नेपाल सधैँ निरीह बन्ने गर्छ । सन् १९९० बेइजिङबाट सुरु गरेको एसियाडको यात्रामा नेपाली उसुले अहिलेसम्म पदक जित्न सकेको छैन । उसु अन्तर्गत नै महिला सान्डामा नेपालकी रिता ठाकुला क्वाटरफाइनलमा पराजित हुनुभयो । तुर्कमिनिस्तानकी मर्यन जोराएभाले रितालाई २–० ले पराजित गर्नुभएको हो ।
बक्सिङको खराब बोहनी
एसियाली खेलकुदमा बक्सिङले नेपाललाई सात कांस्य पदक दिलाएको छ तर सन् २०१० मा भएको ग्वान्जाउ एसियाडमा दीपक महर्जनले कांस्य पदक जितेपछि यस खेलबाट नेपालले पदक पर्खेको १६ वर्ष भइसकेको छ । आइची नागोया एसियाडमा महर्जनकै प्रशिक्षकत्वमा नेपालको बक्सिङ टिम रहेको छ । बक्सिङले पहिलो दिन सोमबार राम्रो बोहनी गर्न सकेन । पुरुष ७० केजी तौल समूहको प्रारम्भिक चरणमै नेपालका दानबहादुर दर्लामीले इराकका अली कासिम हम्दान अल सारेसँग ०–५ ले पराजय बेहोर्नुभयो । निर्णायकहरूले अली कासिमको पक्षमा ३०–२७, ३०–२७, २९–२८, ३०–२६ र ३०–२६ ले निर्णय दिएका थिए ।
बक्सिङबाट नेपाललाई पदक दिलाउने अपेक्षा गरिएका चन्द्रबहादुर थापामगरले खेल्न भने बाँकी छ । ५५ केजी तौल समूहमा चन्द्रले सोमबार खेल्नहुने छ । सोही दिन नेपालकी २० वर्षीय महिला बक्सर रमिसा श्रेष्ठले पनि महिला ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुने छ ।
कबड्डीको हारबाट सुरुवात
२० औँ एसियाली खेलकुदमा नेपालको पुरुष कबड्डी टिमले पनि हारबाट सुरुवात गरेको छ । तोकाई सिटिजन जिम्न्याजियममा सोमबार नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा ५९–४८ स्कोरले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । पहिलो हाफ थाइल्यान्डको पक्षमा २४–२८ मा सकिएको थियो । दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो । दोस्रो हाफमा थाइल्यान्डले ३१ अङ्क जोड्दा नेपालले २४ अङ्क मात्र बनाउन सक्यो । नेपालले २९ रेड अङ्क र बोनस अङ्क १८ पायो । नेपालले एक सुपर अङ्कसमेत नेपालले प्राप्त गरेको थियो । नेपालले समूह चरणमा अब पाकिस्तानसँग मङ्गलबार र मलेसियासँग बिहीबार खेल्ने छ ।
महिला भलिबलमा नेपाल ११ औँ स्थानका लागि खेल्ने
महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा सोमबार भएको क्लासिफिकेसन खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो । हङकङले पहिलो सेटमा २५–२० र दोस्रो सेटमा २५–१९ को सहज जित निकाल्दा तेस्रो सेट प्रतिस्पर्धात्मक भयो । अन्तिममा हङकङले २८–२६ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।
अब नेपालले ११ औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने छ । फिलिपिन्स र मङ्गोलियाबिचको पराजित हुने टोलीले नेपालसँग ११ औँ स्थानका लागि खेल्ने छ ।
सफ्ट टेनिसमा मिश्रित प्रदर्शन
२० औँ एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिस मिक्स डबल्समा नेपालले सोमबार मिश्रित नतिजा निकालेको छ । समूह ‘एफ’ मा चाइनिज ताइपेईसँग ५–० ले हारेपछि नेपालले दोस्रो खेलमा मङ्गोलियालाई ५–४ ले पराजित गरेको थियो तर तेस्रो खेलमा नेपाल पुनः इन्डोनेसियासँग ५–१ ले पराजित भयो ।
नेपालको मिक्स डबल्समा कमल भण्डारी र जर्जिया चौधरीले खेल्नुभएको थियो । सो जोडी चाइनिज ताइपेईका काइवेन यु र सी युयान हुवाङ र इन्डोनेसियाको जोडी फर्नान्डो साङ्गर र सिटी आरसीसँग पराजित भएको हो । कमल र जर्जियाको जोडीले मङ्गोलियाली जोडी खालिउनबायर खुरेलबायर र खोनगोर्जुल गानबोल्डलाई हराउनुभएको हो ।
कराँतेमा एक मात्र खेल
२० औँ एसियाडमा नेपालले सोमबार कराँतेमा एक इभेन्टमा मात्र प्रतिस्पर्धा गर्यो । नेपालीकी निरूपा डोङ तामाङले हङकङकी चिउक लिसँग ३–० ले पराजय बेहोर्नुभयो ।
टेबलटेनिसमा नविताको एक जित
२० औँ एसियाली खेलकुद अन्तर्गत महिला टेबलटेनिस टिम इभेन्टमा सोमबार नेपालले मकाउसँग ३–१ ले हार बेहोरेको छ । नागोयास्थित स्काई हल टोयोटामा भएको महिला टिम इभेन्टमा नेपालले एक दिनअघि चीनसँग पनि ३–० ले पराजय बेहोरेको थियो ।
नेपालले मकाउविरुद्ध दोस्रो खेलमा सान्त्वना जित हासिल ग¥यो । नौ पटककी राष्ट्रिय च्याम्पियन नविताले दुई सेटले पछाडि परेपनि कुआन चिओकलाई ४–११, ३–११, ११–९, ११–७, ११–९ ले हराएर सानदार पुनरागमन जित हात पार्नुभएको थियो । पहिलो खेलमा इभाना थापा झु यु लिङसँग ११–२, ११–१, ११–३ ले पराजित हुनुभएको थियो । तेस्रो खेल योङ्ग पौडेलले ११–५, ११–४, ९–११, ११–२ ले लिओङअन नालाई सुम्पिनुभयो । चौथो खेलमा नवितालाई झु यु लिङले सजिलै ११–२, ११–४, ११–५ ले पराजित गर्नुभयो ।
पुरुषतर्फ समूह ‘सी’ को खेलमा नेपाल बहराइनसँग ३–० ले पराजित भयो । पहिलो खेलमा संयोग कपाली रासेदसँग ११–६, ११–५ र ११–४ ले हार्नुभयो । दोस्रो खेलमा रुविन महर्जनले मोहम्मद सालेहसँग ११–३, ११–८, ९–११ र ११–९ को हार बेहोर्नुभयो । तेस्रो खेलमा गणञ्जय दाहाल, मोहम्मद अलालीसँग १३–११, ११–२ र ११–९ ले हार्नुभयो । नेपालले एकदिनअघि चाइनिज ताइपेईसँग ३–० ले पराजत भएको थियो ।
नेपाली पौडीको खराब दिन
नेपालका पौडी टिमका लागि सोमबारको दन खराब रह्यो । टोकियोमा भएको पौडी खेलमा नेपालका चार खेलाडी हिट चरणबाटै बाहिरिए । महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले ३३.४० अङ्कसहित २७ औँ स्थान बनाउनुभयो । सो इभेन्टमा ३१ खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । महिला दुई सय मिटर फ्रिस्टाइलमा डुवाना लामा १९ औँ स्थानमा रहनुभयो । डुवानाले दुई मिनेट १५.४० सेकेन्डमा दुरी पूरा गर्नुभयो ।
यसै गरी पुरुष एक सय मिटर ब्रेकस्ट्रोकमा योडेन श्रेष्ठ ३६ प्रतिस्पर्धीमध्ये ३० औँ स्थानमा रहनुभयो । उहाँले एक मिनेट ८.०१ सेकेन्ड समय लगाउनुभयो । इर्भिन श्रेष्ठले ५० मिटर फ्रिकिस्टाइल २४.५६ सेकेन्डमा पूरा गरी ३८ औँ स्थान बनाउनुभयो । सो इभेन्टमा ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । इर्भिन सय मिटर फ्रिस्टाइलमा ३६ औँ स्थानमा रहनुभयो । सो इभेन्टमा उहाँले ५४.०३ सेकेन्ड समय लगाउनुभएको थियो । यसै गरी सय मिटर फ्रिस्टाइलमै नेपालका अभिव प्रधान ५२.७४ सेकेन्डसहित २८ औँ स्थानमा रहनुभयो ।